मकाउमा कामका लागि पुगेका एक नेपालीद्वारा आत्महत्याको प्रयास ,गोरख धन्दाको पर्दाफास - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

मकाउमा कामका लागि पुगेका एक नेपालीद्वारा आत्महत्याको प्रयास ,गोरख धन्दाको पर्दाफास



काठमाडौं । मकाउमा कामका लागि पुगेका एक नेपाली इश्वर थिङले त्यहाँ आत्महत्याको प्रयास गरेपछि त्यहाँ संगठित रुपमा कामदार लैजाने नाममा भइरहेको गोरख धन्दाको पर्दाफास भएको छ।

एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका हुन् ।

कम्पनी सुपरभाइजरको मानसिक यातना दिइरहेपछि मकाउ लैजाने एजेन्टलाई जानकारी गराउँदा समेत वास्ता नगरेपछि असहाय महशुस गरेका २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका थिए। मकाउका स्थानीय टेलिभिजनले घटनाको समाचार सम्प्रेषण गरेको थियो।

एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ पुगेका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएका थिए। तर दुवै जनाले थिङलाई वेवास्ता गरेपछि पीडामा रहेका थिङले आत्महत्याको प्रयास गरेका थिए। घाँटीको आधा भाग काटिएका थिङको स्थानीय सान्तेङ अस्पतालमा उपचार भइरहेको छ ।

मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । मोटो कमिसनका लागि सोझा नेपालीलाई त्यहाँ पुर्‍याएर दुख दिने थपलिया र न्यौपानेलाई कार्वाही हुनुपर्ने आवाज उठेको छ।

कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले थिङलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेका थिए । उनी त्यहाँबाट जागिर छाडेर हिँडे अर्को व्यक्तिलाई ल्याउन पाइने भएकाले निरन्तर यातना दिएपछि नेपाली युवक थिङले ग्लोबल होस्टलमै आत्महत्या प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ ।

नेपालमा ऋण गरेर मकाउ पुगेका उनले काम गर्न नसक्ने र पैसा फिर्ता पनि नहुने भएपछि उनीसँग अरु उपाय थिएन । पीडित थिङको परिवारले उनलाई मकाउ लैजाने एजेन्टमाथि कारवाहीको माग गरेका छन् ।

मकाउमा एजेन्ट र कम्पनीको मिलेमतोमा कामदारसँग मोटो रकम लिएर बोलाउने र पछि पीडा दिएर निकाल्ने प्रचलन बढिरहेको छ।