शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितामा साइनिङ्ग स्टार विजयी - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितामा साइनिङ्ग स्टार विजयी



गोविन्द बीसी
बौनिया,कैलाली । माघी पर्वका अवसरमा आयोजना गरिएको शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता आइतबार पनि जारी रहेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा भइरहेको उक्त प्रतियोगितामा आइतबार ४ खेल संचालन भएको आयोजकले जनाएको छ ।

क्वार्टर फाइनल र सेमिफाइनल अन्तर्गत आइतबार भएका ४ खेलमा साइनिङ्ग स्टार र सर्वोदय माविले बिजय यात्रा सुरुवात गरेका छन् । साइनिङ्ग स्टार एकाडेमी र सर्वोदय माविले लगातार २ खेल जितेर फाइनल यात्रा तय गरेका हुन् ।

मोहन्याल मावि बडिकाथाइ र सर्वोदय विद्या मन्दिर मावि गप्का बीच भएको पहिलो खेलमा १६/२५ र १५/२५ को लगातार २ सेटमा सर्वोदय विद्या मन्दिर माविले खेल जितेको छ ।

यस्तै, मोहन्याल मावि बडिकाथाइ र साइनिङ्ग स्टार एकाडेमी बीच भएको दोस्रो खेलमा २०/२५ र २१/२५ को सोझो सेटमा साइनिङ्ग स्टार एकाडेमीले जित हासिल गरेको हो ।

तेस्रो खेल साइनिङ्ग स्टार एकाडेमी र सर्वोदय विद्या मन्दिर मावि गप्का बीच भएको थियो । उक्त खेलमा २१/२५ र ११/२५ को अन्तरले पछि पार्दै साइनिङ्ग स्टार एकाडेमीले फाइनल यात्रा तय गरेको हो ।

आइतबार नै भएको सर्वोदय विद्या मन्दिर मावि र आयोजक दोदोधरा ग्रिनल्यान्ड बोर्डिङ स्कुल बीचको चौथो खेलमा सर्वोदय विद्या मन्दिर माविले जितेको छ ।

दोदोधरा ग्रिनल्यान्ड बोर्डिङ स्कुलको आयोजनामा भएको उक्त प्रतियोगितामा सोमबार फाइनल चरणका २ खेल संचालन हुनेछन् ।फाइनल खेलमा जगदम्बिके भगवती मावि रानीकुण्डा र साइनिङ्ग स्टार एकाडेमी बीच पहिलो खेल हुनेछ भने, दोस्रो खेल बिजेता टीमबीच प्रथम र द्वितीय स्थानका लागि हुने आयोजक विद्यालयले जनाएको छ ।

प्रतियोगितामा स्थानीय सामुदायिक र संस्थागत विद्यालयका गरि ७ वटा टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताबाट प्रथम हुनेले खसी, द्वितीय हुनेले ८ किलो लोकल कुखुरा कप र प्रमाणपत्र मेडल पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा दानुफाटा नमूना सामुदायिक बन उपभोक्ता समितिले आर्थिक सहयोग गरेको छ । यस्तै स्थानीय होटेल ब्यवसायी टेकराज गौतम र न्यू लालिगुरास ग्रामिण विद्युत सहकारी संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको विद्यालयका प्रिन्सिपल शिखर बिश्वकर्माले बताए ।

भलिबल प्रतियोगिताको माध्यमबाट शिक्षक बीच आपसी सद्भाव कायम गर्न र खेलकुदको बिकास गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक हरिशचन्द्र आचार्यले बताएका छन् ।