पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने : रावल - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने : रावल



कैलाली -पत्रकार महिलाको सुरक्षाका सवालमा सबै गम्भिर बन्नुपर्ने सुदूरपश्चिम प्रदेशका सांसद तथा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले बताएका छन् । शुक्रबारबाट कैलालीको धनगढीमा आयोजित पत्रकार महिलाका लागि लैंगिक समता र सुरक्षा सम्बन्धीदुई दिने प्रदेशस्तरीय तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्  ।

पत्रकार महिलाको क्षमता बृद्धिसंगै कार्यस्थल र अन्य समयमा भोग्नुपरेका सुरक्षा चुनौतिबारे सरकारले पनि गम्भिरता लिनुपर्ने उनले बताए । ‘‘अहिले देशैभरिका पत्रकार मिडिया काउन्सिल विधेयकका विरुद्धमा लडिरहेका छन् ।’’ सांसद रावलले भने ‘‘मिडिया स्वतन्त्र नभए सबैभन्दा पहिलो निशानामा महिला पत्रकार पर्छन् ।’’ उनले पत्रकारको क्षमता अभिबृद्धिका लागि आफूले प्रदेश सरकारमा नीति निर्माणका साथै योजना ल्याउन पहल गर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मिन बमले पत्रकार महासंघले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक बृद्धिका लागि पहल गरिरहेको बताइन ।

बरिष्ठ पत्रकार मनमोहन स्वांरले पछिल्लो समय कार्यक्षेत्रमा पत्रकार महिलाले भोग्ने समस्याबारे बहस हुन थालेको बताउंदै पत्रकार महिलाहरु पनि सचेत बन्दै गएको बताए । स्वांरले पत्रकार महिलाका लागि सहज वातावरण बनाउन सहकर्मी पुरुषको भूमिका पनि सहनीय हुनुपर्ने बताए ।

अन्र्तराष्टिय पत्रकार महासंघको सहयोगमा भएको तालिम प्रेस युनियनले आयोजना गरेको थियो । कार्यक्रममा पत्रकार महासंघ कैलालीका पुर्व अध्यक्ष भरत शाह र प्रेस युनियनका केन्द्रीय सदस्य, जगत साउदले समेत बोलेका थिए । तालिममा सुदूरपश्चिमका १७ जना पत्रकार महिला सहभागी छन् भने २ दिन सम्म चल्ने तालिमको पत्रकारद्वय चाँदनी आचार्य र दुर्गा देवकोटा प्रशिक्षक रहेका छन् ।

प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सिताराम ओझाले गरेका थिए ।