हामी बलियो दावेदार थिएनौं, तर आफ्नो क्षमता देखायौँ- मेस्सी
एजेन्सी – अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को फाइनलमा स्थान पक्का गरेको छ । लुसेल रंगशालामा मंगलबार अर्जेन्टिनाले ३-० को सहज जितका साथ उपाधि भिडन्तमा स्थान पक्का गर्यो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले प्रतियोगितामा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा किलीयन एमबाप्पेसँग बराबरी पनि गरे । उनी अर्जेन्टिनाका लागि ११ गोलका साथ विश्वकपको सर्वाधिक गोलकर्ता पनि भए ।
खेलपछि बोल्दै मेस्सीले आफूलाई टिममा विश्वास रहेको बताए । ‘मलाई थाहा छैन यो मेरो उत्कृष्ट विश्वकप हो या होइन । म लामो समयदेखि यो खेलमा रमिरहेको छु । मलाई यो टिममा विश्वास थियो कि हामी अन्त्यसम्म जान सक्छौं भनेर । हामीलाई आफ्नो क्षमता थाहा छ र मात्र विश्वास गरिदिन आग्रह गर्दछौं,’ मेस्सीले सेमिफाइनलमा जितपछि भने ।
‘हामी कठिन परिस्थितिको सामना पार गरेर यहाँ आइपुगेका छौं । आज हामी एकदम राम्रो अवस्थामा छौं । र यो खुसी अर्जेन्टिनी समर्थकसँग साट्न चाहन्छौं । अहिले अर्जेन्टिनामा कस्तो अवस्था होला सम्झेर खुसी छु ।’
‘हामी प्रतियोगिताको सुरुवातमा बलियो दावेदारको रुपमा थिएनौं । तर हामी कसैलाई सहज रुपमा छोड्ने पक्षमा पनि थिएनौं । हामीले हरेक खेलपिच्छे आफ्नो क्षमता देखाएका छौं ।’