अनुहार महेश र दीपशिखाको: भिडन्त ओली र प्रचण्डको - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अनुहार महेश र दीपशिखाको: भिडन्त ओली र प्रचण्डको



काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा कतिपय स्थानमा भिड्ने नेताहरूको कारण निर्वाचन थप रोचक बन्ने देखिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा पनि यो पटककको निर्वाचनमा फरक दृश्य देखिने पक्का भएको छ ।

यहाँ लड्ने दुई नेताको कारण प्रतिस्पर्धा निकै रोचक देखिएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट यसअघि बलियो मतले विजयी भएका उम्मेदवार र गठबन्धनका तर्फबाट युवा उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

२०७४ मा एमालेका महेश बस्नेतले निकै राम्रो मतका साथ् जितेका थिए । यसपाली भने कांग्रेससहितका गठबन्धन दलको साथ लिएर माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा दीपशिखा यहि क्षेत्रबाट उठ्ने पक्का भैसकेको छ ।

माओवादी केन्द्रले वाइसियलका इन्चार्ज समेत रहेका दीपशिखालाई भक्तपुर २ मा बस्नेतविरुद्ध उठाउन नाम सिफारिस गरिसकेको छ। पार्टीले सिफारिस गरेपछि दीपशिखाले टिकट पाउने पक्का जस्तै भएको छ ।

यता महेश बस्नेत पनि विद्यार्थी राजनीतिबाट आएका एमालेका प्रभावशाली नेता हुन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट नेता हुन् । भने दीपशिखा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकट नेता मानिन्छन। दीपशिखा प्रतिनिधिसभामा पहिलोपल्ट भिड्दैछन् भने महेश बस्नेत यसअघि यहि क्षेत्रबाट निर्वाचित भएका नेता हुन् ।
एमालेले वर्तमान सांसद महेश बस्नेतलाई भक्तपुर २ बाट प्रतिनिधिसभाको उम्मेदवारमा दोहोर्‍याउने निर्णय सोमबारै गरिसकेको छ। भक्तपुरमा सडकसहितका पूर्वाधार विस्तारमा बजेट परिचालन गरेर पकड जमाइरहेका बस्नेतलाई यो पटक माओवादीले चुनौती दिन लागेको हो।

यसरी हेर्दा चुनावमा दुई युवाको भिडन्त देखिएपनि खास प्रतिस्पर्धा भने ओली र प्रचण्डबीच देखिएको स्थानीय बताउँछन् । महेश र दीपशिखाबीच हुने चुनावी अभियान पनि रोचक बन्ने देखिएको छ । उनीहरू दुबैले चुनावी अभियान समेत थालिसकेका छन् । महेशले निरन्तर सांसदका रूपमा काम गर्दै आइरहेका छन् भने दीपशिखाले केही समयदेखि चुनावी तयारी थालिसकेकाछन्।

सत्तारुढ दलहरूले गठबन्धन गरेपछि एमालेले अन्य केही नेताले दाबी गरे पनि चुनाव सजिलै जित्नका लागि एक मत भएर बस्नेतको नाम सर्वसम्मत गरेको छ। यसअघि बाम गठबन्धन हुँदा महेशलाई सहज भएपनि पाँच दलीय गठबन्धन हुँदा एमालेलाई अफ्ठ्यारो हुनसक्ने आंकलन गरिएको छ ।

स्थानीय तहको मतपरिणामले पनि एमालेलाई चुनौती दिएपनि महेश यो क्षेत्रमा लोकप्रिय नै देखिन्छन। यता नयाँ उम्मेदवार बनेका दीपशिखालाई जनताले कत्तिको पत्याउँछन् त्यो भने हेर्न बाँकी छ । दुवै नेता आफ्ना पार्टी अध्यक्षका निकट भएकाले यो क्षेत्रमा शक्ति प्रदर्शन पनि राम्रै हुने बताइन्छ ।

यसअघि २०७४ को संसदीय निर्वाचनमा भक्तपुर २ बाट एमालेका महेश बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई भारी मतले हराएका थिए। माओवादीको पनि साथ पाएका बस्नेतले कांग्रेसका उम्मेदवार पूर्वसभामुख ढुंगानालाई १७ हजार सात सय २५ मतान्तरले हराएका थिए।

अहिले एक्ला एक्लै हेर्नेहो भने यो क्षेत्रमा एमाले निकै बलियो अवस्थामा छ । तर गठबन्धन हुँदा के हुन्छ भन्न सकिने अवस्था छैन ।

२०७४ को संसदीय निर्वाचनमा बस्नेतले ३६ हजार चार सय १२ मत ल्याए। पूर्वसभामुख ढुंगानाले १८ हजार ६ सय ८७ मत ल्याएका थिए।