मदन पुरस्कार विजेता पूर्वडीआईजी पनि भ्रष्टाचारी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

मदन पुरस्कार विजेता पूर्वडीआईजी पनि भ्रष्टाचारी



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शाह मदन पुरस्कार विजेता हुन् ।

उनले मध्य क्षेत्रिय तालिम केन्द्र रहँदा किर्ते हस्ताक्षर गरी प्रहरी जवानको तलब भत्ता हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका एक सय तीन प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार चार सय ६८ रुपैयाँ हिनामिना गरेको अख्तियारको भनाई छ। त्यस्तै, एक सय ४२ नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब एक लाख ४९ हजार ६ सय १६ रुपैयाँ गरी जम्मा ३३ लाख ३८ हजार ८४ रुपैयाँ तलवी भरपाईमा कीर्ते हस्ताक्षर गरी झिकेर बाँडिचुडी खाएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

अख्तियारले उनीहरु तीनै जनाविरुद्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै अख्तियारले कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब विशंखेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रहरी तालिम केन्द्रले रकम हिना मिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएको भन्दै लेखापाल विशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।