बस्नेतले बालेनलाई भने: दुइ-चार सय फेसबुके फ्यान भए भनेर नमात्तिनुस् - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बस्नेतले बालेनलाई भने: दुइ-चार सय फेसबुके फ्यान भए भनेर नमात्तिनुस्



काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं महानगरभित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिँदै गर्दा नेकपा एमालेका नेता महेश बस्नेतले यस कार्यप्रति असन्तुष्टी जनाएका छन्।

नेता महेश बस्नेतले बिहीबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको? उनले दुई ओटा कारण देखाए पहिलो नक्सा पास अनुसार घर निर्माण नगरेको भएर? दोस्रो हामीसँग नजिक भएर या फोटो लिएको कारण?’ उनले आफ्नो सामाजिक संजालमा अल्फाबिटाका प्रतिनिधिसँगको एक तस्बिर राखेका थिए। नेता बस्नेतले पहिलो कारण हो भने जायज भएको र, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्ने बताए। उनले दोश्रो कारण हो भने त मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने बताए।

उनको स्टाटसको काउन्टरमा मेयर साहले रिप्लाई गर्दै पहिलो कारण नै भएको बताए। उनले नियम कानुन सबैले पालना गर्नु पर्छ कमरेड बरु तपाईँको घरको नक्शा पास छ कि छैन भन्दै नेता बस्नेतको पोस्ट मा कमेन्ट गरेका छन्।

त्यसपश्चात नेता बस्नेतले पुन: आफ्नो सामाजिक संजालमा अर्को पोस्ट गर्दै लेखेका छन्, ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो। तपाईँलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला,’

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो। पछि अफिस गएर नक्सा र डाेजर ल्याई शाहले उक्त संरचना भत्काएका थिए।

‘तपाइँलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला। हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ। यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई सामाजिक संजालमार्फत निम्तो दिएका छन्।

बस्नेतले २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन्। ‘बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन। त्यस्को विकाश र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईँका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला,’ बस्नेतले फेसबुकमा लेखेका छन्।

पछिल्ला दिन काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तीव्रता दिएका छन्। यस्ता कार्यमा उनी आँफै उपस्थित हुने गरेका छन्।