सङ्घीयता ओलीमार्का भएको राजेन्द्र महतोको आरोप - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

सङ्घीयता ओलीमार्का भएको राजेन्द्र महतोको आरोप



काठमाडौँ :

राजपा अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले प्रदेशको अधिकार कटौती गर्दै सरकार प्रतिगमनतर्फ लागेको आरोप लगाएका छन्। मङ्गलबार प्रतिनिधिसभा बैठकमा बजेटको छलफलमा बोल्दै महतोले देशमा केपी ओली मार्का हाबी भएको आरोप लगाएका हुन्।

सरकारले जारी गरेको २०७६/०७७ को बजेट विभेदकारी र सङ्घीयताको मर्मविपरित भएको महतोले दाबी गरे। ‘हामीले अधिकारसम्पन्न प्रदेश माग्या हो’महतोले भने–‘ केपी ओली मार्काको सङ्घीयता होइन।’ सरकार र निश्चित जिम्मेवारीबाहेक सबै अधिकार प्रदेशलाई दिने संविधानको मर्म भएपनि सरकारले सबै अधिकार आफ्नो हातमा लिएको महतोले बताए।

संसदलाई दिइएको विकास खर्चबारे बोल्दै महतोले निर्वाचन प्रणालीका कारण बजेट माग्न सांसद बाध्य भएको बताए। यसको अन्त्यका लागि निर्वाचन प्रणाली परिवर्तनको खाँचो रहेको उनको भनाई छ।

‘प्रतिगमनविरुद्ध हामी सबै मिलेर लडेको हो। तर अहिले संविधानलाई नै असफल पार्ने प्रयत्न भइरहेको छ। कर्मचारी भर्ती गर्दा समावेशी नगर्ने। समावेशी हरायो। प्रतिगमनतर्फ गएको होइन  त ?’ उनको भनाइ थियो।
नागरिकताबारे अदालतले फरक–फरक फैसला गरेकोले न्यायलयप्रतिको विश्वासमा शङ्का देखिएको धारणा व्यक्त गरे । जनताले सङ्घर्ष गरेर पाएको अधिकार खोसेर फेरि अधिकारका लागि लड्न बाध्य नपार्न आग्रह गरे।