आर्थिक बृद्धि असम्भव : डा. महत
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट वायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् । उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागि सरकार असफल भएको दाबीसमेत गरे ।
रिपोर्टर्स क्लब नेपाल ५ नम्बर प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले सरकारले सस्तो लोकप्रियताका लागि मिठा–मिठा शब्दजाल भरेर बजेट बनाएको दाबी गरे । एक वर्षमा ५ लाखलाई रोजगारी दिने बजेटमा उल्लेख गरिएपनि त्यसका लागि कुनै तयारी र अध्ययन नदेखिएको उनको भनाइ छ । उनले भने – ‘रोजगारी सिर्जना भनिएको छ तर त्यो कसरी कुन तरिकाले गरिने हो त्यो उल्लेख छैन, शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?’
सरकाले आर्थिक बृद्धिदर ८ प्रतिशतको लक्ष्य लिएपनि पूँजी लगानीबिना आर्थिक बृद्धि संभव नभएको भन्दै उनले सरकारले पूँजी लगानीलाई कर थोपरेर लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको आरोप लगाए । आर्थिक बृद्धिदर हासिल गर्नका लागि कति पूँजी लागनी गर्नुपर्छ त्यसतर्फ सरकारले सोंच्दै नसोंचेको उनको भनाइ छ ।
आर्थिक बृद्धिदर र पूँजी लगानीमा ८० प्रतिशत निजी क्षेत्र र २० प्रतिशतमात्रै सरकारी लगानी हुने गरेको उल्लेख गरेका छन् । उनले भने – ‘नेपालमा ट्याक्स बढी छ, यसले लगानी बृद्धिलाई असर गर्छ, ट्याक्स कम भएमा मात्र लगानी भित्रिन्छ ।’
‘१०० करोडभन्दा बढी लगानीलाई पब्लिक लिमिटेड कम्पनीमा भनिएपनि यसमा खास वैदेशिक लगानी आउँदैन’–उनले भने । सरकारको बजेटले प्राइभेट इन्भेष्टमेन्टलाई डिस्करेज गर्न खोजेको उनको तर्क छ । ‘योजना ल्याउँदा अध्ययन होस् तयारी होस्, हावाका भरमा बजेट नबनाउनूस्,प्रधानमन्त्रीलाई जे लाग्यो त्यहि बजेटमा आउनु राम्रो होइन’ उनले भने ।
माननीयलाई संसदीय विकास क्षेत्रको पैसा ४ करोड दिन नहुने उनको भनाइ छ । ‘यो धेरै भो, तैपनि सरकारले गलत ढंगले ल्याएको छ, चोर बाटोबाट आएको छ यो ठीक होइन’ कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा. महतले सत्तापक्षको मिठो–मिठो कुरा सुनेर इनोसेन्ट भएर ताली बजाउने मात्रै काम भएको भन्दै प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताए ।
‘सरकारका कमी कमजोरी हेरिरहेका छौं तर भ्रम हटोस् हामी जिम्मेवारीमै छौं’ उनले भने । कांग्रेस संगठन बिस्तार अभियानमा रहेको भन्दै उनले कांग्रेस अब बलियो भएर अघि बढ्ने बताए । ‘कोठाकोठामा गुटबन्दी होला तर बाहिर छैन, व्यवस्थापकीय र संगठनात्मक कमजारी होलान्, त्यो सुधार्र्छाैं’ उनले भने ।