यातायातमन्त्री महासेठकै गाडीमा ट्राफिकको ‘ह्वील लक’ - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

यातायातमन्त्री महासेठकै गाडीमा ट्राफिकको ‘ह्वील लक’



काठमाडौं। सडक तथा यातायातसम्बन्धी नीतिनियम बनाउने र त्यसको कार्यान्वयनदेखि रेखदेख गर्ने सबैभन्दा माथिल्लो निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । सोही मन्त्रालयका मन्त्री चढ्ने गाडी भने जथाभावी पार्किङ गरेको भेटिएपछि कारबाहीमा परेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने बा२झ ४८६२ नम्बरको झन्डावाला गाडी बुधबार ट्राफिक प्रहरीको कारबाहीमा परेको हो । यातायातसम्बन्धी नियम बनाउने मन्त्रीकै गाडी अनधिकृत रूपमा पार्किङ गरेको भन्दै सर्वसाधारण आक्रोशित देखिन्छन् भने कारबाही गर्ने ट्राफिक प्रहरीलाई सामाजिक सञ्जालमा धेरैले धन्यवाद दिइरहेका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेको उक्त गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको हो । पार्किङ निषेधित फुटपाथमा रोकिराखेको मन्त्री चढ्ने गाडीमा प्रहरीले सुरुमा ह्वील लक लगाएको थियो । पछि गाडी चालक शिवराम थापाको लाइसेन्स लिएर १ हजार रुपैयाँ जरिमाना गराएर गाडीलाई छाडिएको थियो । ‘पार्किङ निषेधित गरिएको ठाउँमा अनधिकृत पार्किङ गरिएको पाइएपछि कारबाही गरिएको हो, जरिमाना गरेर गाडी छाडिएको छ,’ ट्राफिक प्रहरी महाशाखाले भन्यो ।

मन्त्री चढ्ने गाडीमा ह्वील लक लागे पनि त्यसबेला मन्त्री भने गाडीमा नरहेको बुझिएको छ । स्रोतका अनुसार उक्त गाडी गृह मन्त्रालयमा दर्ता छ भने मन्त्रीले गाडी चढ्ने गरेका थिए ।
यसअघि ११ असारमा अनधिकृत रूपमा पार्किङ गरिएको गृह प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा ट्राफिक प्रहरीले हवील लक गरेको थियो । सहसचिव तथा प्रवक्ता सुवेदीको बा२झ ४३८८ नम्बरको गाडीमा सिंहदरबारनजिकै ट्राफिक प्रहरीले ह्वील लक गरेको थियो ।

मन्त्रीका गाडीले टेर्दैनन् लेन नियम

गणतन्त्रमा जनता र जनताले चुनेका जनप्रतिनिधि बराबर भन्ने गरिन्छ । तर, जनताले चुनेका जनप्रतिनिधि तथा मन्त्रीलाई भने नियम कानुनले छुने गरेको छैन । मन्त्री सवार गाडीले लेन मिच्ने गरेका असंख्य उदाहरण छन् । झन्डावाल गाडीलाई ट्राफिक प्रहरीले पनि सर्वसाधरणका गाडीलाई रोकेर लेनविपरीत नै चल्न दिने गरेको छ ।

भीआईपीको सवारीमा यात्रुका सास्ती अझै हटेनन्

राष्ट्र प्रमुख तथा राष्ट्राध्यक्षको सवारीमा सर्वसाधरणले हैरानी खेप्नुपर्ने प्रथा अझै हट्न सकेको छैन । राजामहाराजाको पालामा उनीहरूको सवारी हुँदा घण्टौंसम्म सर्वसाधारणलाई सडकमा रोक्ने चलन लोकतान्त्रिक गणतन्त्रमा पनि हट्न सकेको छैन । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि डा. रामवरण यादव पहिलो राष्ट्रपति बने, उनको पालामा सवारी हुँदा सर्वसाधारणलाई बाटोमा रोकेको भन्दै चर्को आलोचना भएको थियो । दोस्रो कार्यालयपछि पुनः राष्ट्रपतिका रूपमा दोहोरिएकी विद्यादेवी भण्डारीको पालामा पनि सवारी हुँदा बाटो रोकेर सर्वसाधारणलाई सास्ती दिने चलन हट्न सकेको छैन । यसअघि सर्वसाधरणले ठूलाबडाको सवारीमा आफूहरूलाई घण्टौं रोकेर सास्ती दिएको भन्दै सर्वसाधारणले विरोधस्वरूप अवज्ञासमेत गरेका थिए । राष्ट्रपतिबाट आफ्नो सवारीमा सर्वसाधारणलाई नरोक्न आग्रह गरिए पनि सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले रोक्ने गरेका छन् ।