महासेठले संसदमै गरे ‘फरार अभियुक्त’ एमाले सांसद कोइरीको बचाउ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

महासेठले संसदमै गरे ‘फरार अभियुक्त’ एमाले सांसद कोइरीको बचाउ



नेकपा एमालेका सांसद रघुवीर महासेठले ‘फरार अभियुक्त’ को सूचीमा रहेको एमाले सांसद लक्ष्मी महतो कोइरीको बारेमा कुनै धारणा नबनाउन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले महतो पनि यो देशको प्रधानमन्त्री बन्ने अधिकार भएको मान्छे भएको भन्दै बचाउ गरेका छन्।

‘लक्ष्मी महतोको पनि यो देशमा प्रधानमन्त्री बन्ने अधिकार छ। उहाँ माननीय हुनुुहुन्छ,’ महासेठले भने।

महतोमाथि ‘अपराधी’ शब्द प्रयोग नगर्न उनले आग्रह गरे। ‘आज लक्ष्मी महतोमाथि जुन ‘अपराधी’ भन्ने शब्द प्रयोग भएको छ। अहिलेसम्म अदालतले दोषी करार गरेको छैन। शंकाको घेराभित्र राखिएको छ। थुनछेक गरेर अर्थात् थुनामा राखेर कारबाही गर्ने कुरा उठाएको छ,’ सांसद महासेठले भने, ‘अपराधि नै हो भनेर निर्णय गरेको छैन। हामी यो देशको इतिहास हेरौं। पञ्चायतकालमा हामीले सम्मान गर्नपर्ने व्यक्तिहरु, नेपाली जनताको मन मनमा भएको स्व विपी कोइराला देश छाडेर प्रवासमा किन बस्नुपर्‍यो? त्यही पञ्चायती शासकको कारण होइन?’

स्व. गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु पनि जेलमा परेको उदाहरण दिँदै उनले प्रश्न गरेका छन्।

‘हामीले अहिलेपनि हामीहरुको बिचमा हुनुहुन्न, गिरिजाबाबु। आज पनि नेपालीले उहाँको नाम सम्मानसहित लिने गरेको । के त्यो बेलामा उहाँलाई शासकले अपराधि घोषणा गरेको थिएन र? डाकाको मुद्दा लगाएको थिएन र?,’ उनले भने, ‘देशद्रोहको मुद्धा उहाँमाथि लगाएको थिएन र? हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीलाई अपराधि भनेर जेलमा राखेको थिएन र? के साँच्चै उहाँ अपराधि हुनुुहन्थ्यो। शेरबहादुर देउवाजी जेल जानुभएको थिएन र? माधव नेपाल जेल जानुभएको थिएन र? सम्माननीय प्रधानमन्त्रीमाथि चाँही मुद्दा लगाइएको थिएन र?’