महरा प्रकरणबारे नयाँ रहस्य - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

महरा प्रकरणबारे नयाँ रहस्य



काठमाडाैं- सभामुख कृष्णबहादुर महरा प्रकरण एक आपराधिक प्रकृतिको घटना मानिएको भए पनि प्रचण्डले यसलाई गम्भीर षड्यन्त्रका रूपमा लिएका छन् । महरालाई पदमुक्त गराई यस अवस्थामा पुऱ्याउन अमेरिका, भारत र स्वयम् केपी शर्मा ओली लागि परेको भन्ने बुझाइ प्रचण्डको छ ।

रोशनी शाहीसँग महराको निकटतम सम्बन्ध रहेको पत्ता लागेपछि शाहीको बासस्थानवरिपरि सीसीटीभी जडान गरिनु र महराविरुद्ध उजुरी गर्न रोशनीलाई बाध्य तुल्याउनु महराविरुद्धको षड्यन्त्र थियो भन्ने प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली महरालाई सभामुख बनाउने पक्षमा पहिले पनि नरहेको र प्रधानमन्त्रीले केही महिनाअघि नै सभामुख पद त्याग गरेर मन्त्रिमण्डलमा सामेल हुन महरालाई अनुरोध गर्नुभएको, महराले अस्वीकार गरेपछि षड्यन्त्रमूलक ढङ्गले उहाँलाई फसाइएको भन्ने ठहर प्रचण्डले गर्नुभएको छ ।

महरा प्रकरणप्रति प्रचण्डको धारणा बुझ्दा उहाँ महराको राजनीतिक पुनर्जीवनको पक्षमा भएको बुझिन्छ । जे होस्, महरा प्रकरणले पनि प्रधानमन्त्री र प्रचण्डबीच अविश्वास र तनाव बढाएको छ । अन्ततः आफ्नैविरुद्ध समेत केपीले कुनै गम्भीर षड्यन्त्र रच्न सक्ने आशङ्का प्रचण्डमा पैदा भएको छ । (घटना र विचारबाट)