महरा प्रकरण: नेकपामा खैलाबैला - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

महरा प्रकरण: नेकपामा खैलाबैला



काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको ।

नेकपाबाट चुनाव लडेर दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका महरालाई तत्कालिन नेकपा माओवादी केन्द्रले सभामुख बनाएको थियो । तत्कालिन नेकपा एमालेको समर्थनमा सभामुख बनेको महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् ।

आइतबार साँझ महरा ति महिलाको कोठामै पुगेर जबरजस्ती करणीको शैलीमा दुव्र्यवहार गरेको महिलाको आरोप छ । दुव्र्यवहारपछि महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । तर महरा प्रहरी पुग्नुअघि नै निस्केर गएको बताइएको छ ।

महिलाको तिनकुनेमा रहेको कोठामा महरा मदिरासमेत लिएर गएर महिलालाईसमेत मदिरा पिउन कर गरेको आरोप लागेको छ । महरा भने महिलाको कोठामा पुग्नुअघि नै मदिरा पिइसकेका थिए ।

महरा र महिलाबीच पहिलादेखि नै चिनजान रहेको बुझिएको छ । साथै विगतमा पनि महरा महिलाको कोठामा जाने गर्दथे । तर विगतमा राम्रै व्यवहार र सम्बन्ध थियो ।

केहीबेर मदिरा सेवन गरेपछि महराले महिलालाई दुव्र्यवहार गर्न सुरु गरेका थिए । यो घटनाको विषयमा महिलाले मुख खोलेपछि अहिले महरा तनाबमा छन् । महराको विषयलाई लिएर नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरु नै महराको विषयमा छलफलमा जुटेको बताइएको छ । महिलाले लगाएको आरोप सत्य हो वा होइन ? यदी हो भने कसरी समाधान गर्ने भन्नेमा छलफल केन्द्रित भएको बुझिएको छ ।

महराले केही संचारमाध्यमलाई आफू ति महिलाको कोठामा गएको तर महिलाले आरोप लगाएको जस्तो व्यवहार नगरेको जवाफ दिएका छन् । रातको समयमा एउटी महिला भएको कोठामा गएको स्वीकार गरिसकेपछि महराले गल्ती नै गरेका हुन् कि भन्ने नेकपाका नेताहरुको आशंका छ ।

महराले जबरजस्ती गरेपछि हात हालाहाल भएको र आफूलाई चोट लाग्ने गरी कुटपिट गरेको महिलाको दावी छ । घटना सार्वजनिक भएपछि सामाजिक संजालमा मिश्रित प्रतिक्रिया आएको छ । अधिकांशले भने महराको आलोचना गरेका छन् ।

महरा विगतमा पनि विवादित व्यक्ति नै हुन् । ६२–६३ सालको जनआन्दोलनपछिको सरकारमा संचारमन्त्री हुँदा महरा फ्रिक्वेन्टी प्लटिङ विवादमा परेका थिए ।

२०६७ भदौ १८ गते नेपाली मिडियामा एउटा अडियो सार्वजनिक भयो । अडियोमा माओवादी नेता कृष्णबहादुर महरा र एक चिनियाँ व्यापारीबीच गम्भीर खालको संवाद भएको अहिले पनि युट्युबमा सुन्न पाइन्छ ।

अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपियाँ आवश्यक परेको बताएका छन् । यो घटनाले उनी धेरै विवादमा परे ।

२०७३ सालमा अर्थमन्त्री हुनुअघि नेता महराले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनलाई १३ पाने फारम भराएर अनुसन्धान सुरु गरेको थियो ।

पटक पटक अख्तियार मुख्यालय टङ्गालमा आफ्नो अकुत सम्पत्तिबारे बयान दिन पुगेका महरालाई ठीक त्यति नै बेला उपप्रधान तथा अर्थमन्त्रीको चिठ्ठा आइलाग्यो ।

अकुत सम्पत्तिमा छानविन भइरहेका बेला उपप्रधान तथा अर्थमन्त्रीको झण्डा उपहार पाउँदा विवाद आउने कुरा स्वभाविक नै थियो ।

तर, नेपाली राजनीतिको ‘साइलेन्ट खेलाडी’ मानिने महराले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्र्कीलाई पनि मिलाउन सफल भए ।

छोरा निर्मल महराको एनजीओमा चिनियाँ लगानीको विषयमा पनि महरा विवादमा तानिएका थिए । पश्चिमा लगानीका एनजीओको विरोध गर्ने तर नेताकै छोराले आफ्नो एनजीओमा चीनबाट लगानी भित्र्याउने कुराले माओवादीभित्र ठूलै विवाद जन्माएको थियो ।

यसपटक भने महरा गम्भीर आरोपमा फसेका छन् । यस घटनाले आगामी दिनमा कस्तो मोड लिन्छ ? महिलाले लगाएको आरोप पुष्टी हुन्छ वा हुँदैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

यसैबीच महराको सचिवालयले एक विज्ञप्ति जारी गर्दै लगाइएको आरोप झुटो भएको दावी गरिएको छ । संचारमाध्यममा क्षतिग्रस्त चस्मा र जुत्ताको तस्विर राखेर महराकै हो भनिएकोमा पनि विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

महिलालाई प्रयोग गरी फसाउने षडयन्त्र गरिएको महराका प्रेस सल्लाहाकार डिल्ली मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“समाचारमा उल्लेख गरिएजस्तो सभामुखज्यूले कसैलाई दुव्र्यवहार गरिएको कुरा कल्पनासमेत गर्न सकिदैन ।” विज्ञप्तिमा भनिएको छ ।

यसअघि उनी तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भइसकेका नेता हुन् ।