एमसीसीतर्फ सङ्केत गर्दै महराले भने : देशको लागि हिँजो पनि लडें, भोली पनि लड्छु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एमसीसीतर्फ सङ्केत गर्दै महराले भने : देशको लागि हिँजो पनि लडें, भोली पनि लड्छु



काठमाडौँ- अदालतले सफाई दिएर जेलबाट छुटेपछि पूर्वसभामुख कृष्णबहादु महराले आफूलाई सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्।

एक विज्ञप्ति जारी गर्दै महराले आफूमाथि लगाइएको आरोप गलत साबित भएको भन्दै खुशी व्यक्त गरेका छन्।

महराले विज्ञप्तिम भनेका छन्, ‘अन्ततः म माथि लगाइएको आरोप गलत साबित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

उनले रिहा भएपटि १०३ दिन डिल्लीबजार कारागारमा बिताएको स्मरण गर्दै त्यहाँका बन्दीहरुप्रति पनि आधार व्यक्त गरेका छन्।

‘यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु, महराले भनेका छन्।

आफूमाथि लागेको आरोपलाई महराले राष्ट्रियतासँग पनि जोड्ने प्रयास गरेका छन्। अमेरिकी सहयोग एमसीसी सम्झौता संसदबाट पारित गर्न अस्वीकार गरेकाले महरालाई षड्यन्त्र पूर्वक फसाइएको आरोप उनका समर्थकले लगाउँदै आएका थिए।

उक्त सम्झौता राष्ट्रहित विपरीत रहेको केही नेकपा नेताहरुको दाबी छ। त्यसैतर्फ संकेत गर्दै महराले आफ्नो प्राथामिकता देशको स्वाधीनता रक्षामा रहेको बताएका हुन्।

उनले विज्ञप्तिमा भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।

नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ।’

यस्तो छ महराले जारी गरेको विज्ञप्तिः

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अदालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।
धन्यवाद !

२०७६ फागुन ५

कृष्ण बहादुर महरा
प्रतिनिधि सभा सदस्य, दाङ–२