महरालाई सांसदबाट पनि हटाउने पार्टीको तयारी - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

महरालाई सांसदबाट पनि हटाउने पार्टीको तयारी



काठमाडौं । सहकर्मी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब बढेको छ ।

यौन दूराचारको आरोप लागेका महरालाई सांसद पदमा बहाल रहन दिइराख्दा पार्टीको साख गिर्ने भन्दै नेकपाका केन्द्रीय नेताहरूले सांसद पदबाटै हटाउनुपर्ने माग गरिरहेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले नै दुवै पदबाट राजीनामा दिन भनिसकेकाले उनले सांसद पदबाट राजीनामा दिने बताउँछन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि मङ्गलबार महरा अब पार्टीको नजरमा सांसद नरहेको बताएका थिए । कानुनवेत्ता, संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका नेम्वाङले पार्टीले नै राजीनामा दिन भनिसकेकोले उनलाई दलले सांसदको रूपमा नचिन्ने तर्क गरेका थिए ।

नेम्वाङले सभामुखले राजीनामा दिएको सूचना संसद् सचिवालयले आज टाँस गर्ने सम्भावना रहेको बताए । प्रतिनिधिसभा नियमावलीमा सभामुखले उपसभामुखलाई सम्बोधन गरेर राजीनामा गर्ने र उपसभामुखले संसद् बसेको बेला संसदमा पढेर सुनाउने व्यवस्था छ । बैठक नबसेका बेला भने सूचना टाँस गरेर जानकारी दिनुपर्छ ।

संसद्को अधिवेशन नचलेका बेला संसद् सचिवालयले सूचना टाँस गर्छ । र, बुधबार टाँस गर्ने सम्भावना रहेको र कर्मचारीले तयारी गरिरहेको नेम्वाङको भनाइ थियो ।