सर्वाधिक महँगा डिफेन्डर, जो विश्वकप नखेल्ने - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सर्वाधिक महँगा डिफेन्डर, जो विश्वकप नखेल्ने



रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगिता गुमाउने केहि त्यस्ता खेलाडी छन् जो करिअरकै उच्च फर्ममा रहदा पनि खेल्न पाउनेछैन्। ती मध्येका एक खेलाडी हुन्, नेदरल्यान्ड्सका डिफेन्डर भिर्जेल भान डेक।

२०१४ मा तेस्रो स्थान हात पारेको नेदरल्यान्ड्स युरोप छनोटको समूह ‘ए’ मा तेस्रो स्थानमै सीमित बनेको थियो। नेदरल्यान्ड्स सन् १९७० पछि विश्वकपमा छनोट हुन असफल भएको हो। जसले गर्दा भान डेक जस्ता प्रतिभाशाली खेेलाडी विश्वकपबाटै टाढै रहनु पर्‍यो।

भान डेक विश्वका सर्वाधिक महँगा डिफेन्डर हुन्। उनी गत सिजन इंग्लिस क्लब लिभरपुलमा आवद्ध हुँदा सर्वाधिक महँगो डिफेन्डरको रेकर्ड बनाएका थिए। सेन्टर ब्याक भान डेक इंग्लिस क्लब साउथह्याम्टनबाट ८४.५ मिलियन युरो (१० अर्ब रुपैयाँ) मा लिभरपुलमा आबद्ध भएका थिए।

२६ बर्षीय डेकले विश्वकै सर्वाधिक महँगा डिफेन्डर बन्ने क्रममा म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डेको रेकर्डलाई पछाडि पारेका थिए। बेन्जामिन गत जुलाईमा मोनाकोबाट ५२ मिलियन पाउन्डमा फ्रेन्च क्लब मोनाकोबाट सिटीमा आबद्ध भएका थिए।

उनी सन् २०१५ मा स्कटिस क्लब सेल्टिकबाट १३ मिलियन पाउन्डमा साउथह्याम्टनमा आवद्ध भएका थिए। ६ वर्षको सम्झौता गरेपनि उनी लिभरपुलमा मोटो रकममा आवद्ध भएका हुन्।

विश्वको सर्वाधिक महँगा डिफेन्डर बनेका डेक विश्वको आठौं महँगा खेलाडी बने।

चार नम्बरको जर्सी लगाउने डेक जनावरीदेखि लिभरपुलमा आवद्ध भएका थिए। उनको प्रभावशाली प्रदर्शनमा लिभरपुलले च्याम्पियन्स लिगको फाइनल सम्मको यात्रा गरेको थियो।

उनले सन् २०१५ नेदरल्यान्ड्सको राष्ट्रिय टिममा डेब्यु गरेर १८ क्याप जित्दा १ अन्तर्राष्ट्रिय गोल गरेका छन्।