महाकालीमा संरचना निर्माण तत्काल रोक्न नेपाल र भारतबीच भयो यस्तो सहमती
काठमाडौं – महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको संरचनाको निर्माण तत्कालका लागि रोक्ने सहमति भएको छ ।
दार्चुलाको खलंगा र आसपासमा भारतले एकतर्फी रूपमा बनाइरहेका संरचना निर्माण रोक्नेगरी सोमबार सहमति हो ।
सोमबार भारत पिथौरागढ प्रशासनका एडिएम सहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित ‘संयन्त्र’ बनाएर मात्रै काम अघि बढाउने सहमति भएको बताइएको छ ।
प्राविधिक, स्थानीय राजनीतिक दलका प्रतिनिधि र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर निर्माण अघि बढाउने सहमति भएको दार्चुलाका डीएसपी तर्कराज पाण्डेले बताएका छन् ।
महाकालीको बहाव परिवर्तन गर्नुपर्ने ठाउँमा निर्माणकार्य रोक्ने सहमति भएको उनले जानकारी दिएका छन् । आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेको विरोधमा दार्चुलाका स्थानीयले गरेको विरोधमा ढुंगा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए ।