जब महाकालीको कुरा उठाउँदा वामदेव एमालेबाटै लखेटिए... - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

जब महाकालीको कुरा उठाउँदा वामदेव एमालेबाटै लखेटिए…



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धिको कुरा उठाउँदा आफू आफ्नै पार्टीबाट लखेटिएको गुनासो गरेका छन् ।

‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा’ विषयक बहस कार्यक्रममा गौतमले २२ वर्षअघि एकीकृत महाकाली सन्धीका बारेमा कुरा उठाउँदा आफू तत्कालिन एमालेबाट लखेटिएकाे बताउँदै उनले भने, ‘२०५४ सालमा महाकाली एकीकृत सन्धी गर्नु हुँदैन भनेर आवाज उठायौं। तर एकीकृत सन्धिको विरोध गर्दा पार्टी छोडेर हिँड्नुपर्यो । चार वर्ष अलग पार्टी (माले) खोल्यौं। फेरि एमालेमै सङ्घर्ष गर्ने भनेर फर्कियौं।’ ।

त्यसपछि सीमा अतिक्रमणको विषयमा पार्टीमा कुनै पनि बहस हुन नसेकेको उनले बताए। भारतले पछिल्लाे पटक नक्सा नै जारी गरेपछि यो विषयमा राष्ट्रिय एकता जुटेको उनको भनाइ थियो।

उनले ०५० को दशकमा राष्ट्रियता, सीमा अतिक्रमणका विषयमा राम्रो बहस भए पनि त्यसभन्दा पछि कुनै बहस हुन नसकेको बताए । उनले अहिले लिम्पियाधुरा र कालापानी लगायतका भूभाग भारतले आफ्नो नक्सामा समेटेपछि राष्ट्र एकट्ठा हुन पुगेको बताए । “यस विषयमा राष्ट्रिय सहमति जुटेको छ । छलफल गरेर कालापानीबाट भारतीय अर्धसैन्य बल फिर्ता गराउने बेला यही हो,” उनले भने ।

उनले नापी विभाग, भूमि व्यवस्था मन्त्रालय निकालेको नक्सा नै त्रुटिपूर्ण रहेको ठहर गरे । उनले सरकारले निकालेको नक्साका विषयमा आफूले एक वर्षअघि नै कुरा उठाएको भए पनि उतिबेला वेवारिसेमा परेको र अहिले आएर राष्ट्र एकजुट हुँदा खुसी लागेको प्रतिक्रिया दिए ।

दुःखले सुख निम्त्याउने सन्दर्भ उल्लेख गर्दैै उनले भारतले नयाँ नक्सा सार्वजनिक गर्दा सिङ्गो देश एक ठाउँमा उभिन र राष्ट्रिय भावले ओतप्रोत हुन पाएको स्मरण पनि गरे । उनले नापी विभागकै एकजना कर्मचारीले त्यतिबेला लिपुलेक नै त्रिदेशीय विन्दु रहेको र सरकारले सहमति गरेको प्रतिक्रिया दिँएको बताउँदै कर्मचारीहरूको मनोदशाको उदाहरणसमेत दिए ।

“नापी विभागको कर्मचारीले नै लिपुलेकलाई पश्चिमोत्तर सीमानाको अन्तिम विन्दु जिकिर गर्यो,” उनले भने । उनले संयोगले अहिले केपी ओलीले राष्ट्रवादको नेतृत्व गर्ने मौका पाएको बताए । केपी ओलीकै अडानले नाकाबन्दीबाट भारत पछि हटेको उदाहरण दिँदै उनले ओलीकै अगुवाइमा नेपालले लिम्पियाधुरालाई पश्चिमोत्तर नेपालको अन्तिम सिमाना बनाउनुपर्ने बताए ।

“नाकाबन्दीका बेला उहाँ नै नेता बन्नुभयो । कसैलाई चित्त बुझे पनि नबुझे पनि अहिले पनि उहाँकै नेतृत्वमा सन् १८१६ को सन्धीअनुसार लिम्पियाधुरालाई अन्तिम सिमाना बनाउनुपर्छ,” उनले भने ।