वसुन्धराश्री र मानश्री पुरस्कार मदनकृष्ण र हरिब‌ंशलाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वसुन्धराश्री र मानश्री पुरस्कार मदनकृष्ण र हरिब‌ंशलाई



वसुन्धरा मान प्रज्ञाप्रतिष्ठानले यस वर्षकाे वसुन्धराश्री पुरस्कार बरिष्ठ कलाकार मदनकृष्णलाई प्रदान गर्ने भएकाे छ।

प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे। पुरस्कारको साथमा नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र हुनेछ ।

त्यसैगरी मानश्री मह जाेडीका अर्का बरिष्ठ कलाकार हरिबंश आचार्यलाई पुरस्कार मानश्री परस्कार प्रदान गर्ने निर्णय गरेको छ। साे पुरस्कारको राशी पनि नगद ५० हजार रुपैयाँ सहित सम्मानपत्र हुने छ।

वि.सं.२००७ साल वैशाख ७ गते काठमाडाैंकाे जीतपुरफेदीमा जन्मेका विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ एवं वि.सं. २०१४ साल कार्तिक २७ गते काठमाडाैंकाे टंगालमा जन्मेका विशिष्ट कलाकार श्री हरिवंश आचार्यले संयुक्तरुपमा यमलोक, प्यारालाइसिस, अंशवण्डा, कक-फाइट, रद्धीको टोकरी, रङ नम्वर, प्रश्नोत्तर, शपथग्रहण, ऐना, विज्ञापन, लण्डन एयरपोर्ट, वडा नं. 34, श्राद्ध, पिकनिक, अभिभावक, सङ्गीत, रिमोट कन्ट्रोल, नेपालबन्द, काउकुती, नाता, २०५, बोसे आन्द्रे भुँडीको, होस्टेहैँसे, सालिक, महदोहोरी र राष्ट्रिय गाउँखाने प्रतियोगिताजस्ता कालजयी हास्यव्यङ्ग्य सिर्जना गरी जीवन्त रङ्गमञ्चीय प्रस्तुति दिएका छन्।

सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वासुदेव, के घर के डेरा, लोभीपापी, ट्रक ड्राइभर, शत्रु गते र दालभात तरकारीजस्ता सफल नेपाली चलचित्रहरुमा अविस्मरणीय अभिनय एवं फिप्टीफिप्टी, सन्तति, 216777, भकुण्डे भूत, दशैं, पन्ध्र गते, चिरन्जीवी, रात, वनपाले, सुर-बेसुर, कान्तिपुर, राजमार्ग, पानी, कालाजार, असली लोग्ने, लक्ष्मी, लालपूर्जा, सृष्टि, जलपरी, भाइरस, टिकेको तीन मन्त्र र महचौतारीजस्ता लोकप्रिय नेपाली टेलिचलचित्रहरुको लेखन, अभिनय र निर्माण गरेका छन्। स्रष्टाद्वय श्रेष्ठ र आचार्यले संयुक्त रुपमा ‘महसञ्चार’ नामक कला र रङ्गमञ्चसम्वद्ध संस्थाको स्थापना र सञ्चालनका साथै हास्यव्यङ्ग्यकृति ‘महसन’ को लेखन समेत गरेका छन्।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२),वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ्ग (वि.सं. २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४) र वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५) लाई प्रदान गरेको छ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१), गायक दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४) र गायक भक्तराज आचार्य (वि.सं. २०७५) लाई प्रदान गरेको छ।