माघे संक्रान्ति र माघीका अवसरमा थरिथरिका सन्देश, कसले के दिए ?
काठमाडौँ । माघ १ गते माघे संक्रान्ति । मकर संक्रान्ति । यसदिन दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा भव्य मेला समेत लाग्ने गर्छ ।
माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको छ ।
तराईवासीले पनि माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ ।
यस दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
कसले दिए के शुभकामना ?
राष्ट्रपति विद्यादेवी भण्डारी –
मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ÷आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।
यस्ता पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिले सन्देशमा भनेकी छिन््, “हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।”
उनले सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्नसकोस् भन्ने कामना व्यक्त गरेकी छिन् ।
उपराष्ट्रपति नन्दकिशोर पुन–
उपराष्ट्रपति पुनले ‘नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति÷माघी पर्व–२०७४ को पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सूर्य धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरुले नै आ–आफ्नो मौलिकतामा धुमधामका साथ मनाउने यस पावन पर्वको माध्यमबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा आफु विश्वस्त रहेको उपराष्ट्रपतिले बताए ।
सन्देशमा उनले भनेका छन् “हाम्रा विभिन्न मौलिक चाडपर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउँदै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ् गर्न मद्दत पुर्याइरहेका छन् ।”
माघे संक्रान्ति÷माघी पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न र देशलाई आर्थिक समृद्धिको मार्गमा द्रुततर गतिमा अगाडि बढाउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी उपराष्ट्रपतिले कामना पनि गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा–
प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले एक शुभकामना सन्देशमार्फत यस पर्वले सम्पूर्ण नेपालीबीचमा कायम रहेको सद्भाव, सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउँदै जाने विश्वास व्यक्त गरेका छन् ।
साथै, उनले थारू समुदायको समग्र हितका लागि संविधानमा थारू आयोगको व्यवस्था गरिएको र यो व्यवस्थाको कार्यान्वयनमार्फत थारू समुदायको विकास र उत्थान हुने उल्लेख गरेका छन् ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ”–प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
एमाले अध्यक्ष, केपी ओली–
ओलीले माघ १ गते सम्पूर्ण नेपालीहरुको विशेष पर्व भएकाले धुमधामका साथ मनाउन शुभकामना दिएका छन् ।
उनले नेपालमा १२५ जातजाति र १२३ भाषाभाषी भएकाले सबैले सदभाव कायम गर्नुपर्नेमा पनि शुभकामना सन्देशमा जोड दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड–
प्रचण्डले भनेका छन्, ‘नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। माघे संक्रान्ति र माघी पर्वले सबै जात, जाति, भाषा, संस्कृति र समुदायबीच आपसी सद्भाव र राष्ट्रिय एकता बलियो पार्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै राजनीतिक स्थिरता, सुशासन र समृद्धिको राजनीतिक यात्रामा सम्पूर्ण नेपालीहरुमा सहयोग र सहकार्यका लागि अपील गर्दछु।’
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल–
पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । नेपाल विविध जाति, भाषा, संस्कृति, परम्परा र चाडपर्व रहेको मुलुक भएको र यसकै माध्यमबाट राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउन सहयोग पुर्याएको सन्दर्भमा नेपाली चाडपर्व र संस्कृतिको एक अभिन्न अंगका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले पनि नेपालीबीच आपसी प्रेम, सदभाव र सहिष्णुता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने नेता पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
नयाँ शक्ति पार्टीका संयोजक, डा बाबुराम भट्टराई
भट्टराईले ‘बहुजातीय बहुसांस्कृतिक मुलुक नेपालका सबै समुदायको साझा पर्व माघी र माघे संक्रान्तिको उपलक्ष्मा सबैमा हार्दिक शुभकामना ! नेपालको इन्द्रेणी राष्ट्रियताम गर्व गरौं ! सबै जाति र संस्कृतिको सम्मान र संरक्षण गरौं !’ भनेका छन् ।