प्रचण्डले भने: मधेशका लागि म आफैले आन्दोलन गर्न तयार छु - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

प्रचण्डले भने: मधेशका लागि म आफैले आन्दोलन गर्न तयार छु



काठमाडौं । सत्तारुढ (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको विकासका लागि आफू आन्दोलन गर्न तयार रहेको बताएका छन् । प्रचण्डले मधेससँगको आफ्नो प्रेम निरन्तर कायम रहेको पनि बताएका छन् ।

महोत्तरीको पिपरामा बुधबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन । उनले भने ‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राखेका प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’

मधेसलाई भ्रष्टाचारमुक्त बनाउन, समृद्धिको बाटोमा डोर्याउन र संविधान संशोधनको लागि नेकपा उमेदवारलाई मतदान गर्नुपर्ने उनले बताए । “पिपरा गाउँपालिकामा हुने उपचुनावमा नेकपाका उम्मेदवारलाई जिताउनुस् अनि हेर्नुस् विकासको गति” उनले भने

१४ मंसिरमा पिपरा गाउँपालिका अध्यक्ष चयनका लागि हुने उपचुनाव आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गर्दै प्रचण्डले भने, ‘विगतमा पनि मैले मधेशसँग मेरो प्रेम छ भनेको थिएँ, अहिले फेरि दोहोर्‍याएर भन्छु मेरो मधेश प्रेम जारी नै छ ।’

दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट उम्मेदवारी दिएका दाहालले चुनावी कार्यक्रममै पहिलोपटक मधेससँग ‘लभ’ परेको वक्तव्य सार्वजनिक गरेका थिए । पछिल्लो चुनावमा सोही भनाइ दोहोर्याउँदै मधेस दौडाहा गरेका उनले उपचुनावको प्रचारप्रसार क्रममा बुधबार महोत्तरीमा भने, “मधेससँग परेको लभ निरन्तर कायम रहेको प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छु ।”