शहर घुम्ने त्यो रहर - Himal Post Himal Post
  • ९ बैशाख २०८१, आईतवार
  •      Sun Apr 21 2024
Logo

शहर घुम्ने त्यो रहर



-माधव गौतम

शहरका कथा सुनिथ्यो । साक्षात्कार हुने अवसर मिलेको थिएन । झिलिमिली बत्ती, मीठामीठा खानेकुरा, बस, कार, मोटरसाइकल, साइकल र रिक्साका ताँतीहरू, कपडा, भाँडाकुँडा र खानेकुराका प्रशस्त दोकानहरू, सिनेमा, सफा कपडा लगाउने मानिसहरूको भीड जस्ता चित्रहरू कल्पनामा आइरहन्थे । शहर देख्ने रहरहरू मनमा पलाउँदै सुक्दै गरिरहन्थे । एक दिन सूर्य यसरी उदायो जसले मेरा शहर देख्ने रहरका पालुवामा पखेटा लागेरै छोडे । गुल्मीबाट म कपिलवस्तु मामाघर जानेभएँ । बाटोमा पर्थे तानसेन र बुटवल शहर । म खुशीले उफ्रिएको थिएँ त्यो दिन । तानसेन पुग्न करिव आठ घन्टा लागेको हुँदो हो । भुल्केको पानी बिजुलीले तानेर तानसेन शहरमा गइरहेका पाइपहरू देखेर रमाउँदै हिँडे । फरक अनुभुतिले मन पुलकित भयो । मेरा साथीहरूले त विजुलीले पानी तानेको देखेकै छैनन् । आफैलाई विशेष ठाने । बतासे डाँडामा पुगेपछि शहरको हुलिया शुरु भएको थियो । तानसेन नगरमा तपाईलाई स्वागत भन्ने लेखेको देखेपछि लाग्यो मेरै निम्ति लेखिएको होला । शहरले त्यसरी स्वागत गरेकोमा आनन्दको पारो अझ माथि चढेको थियो । छेवैमा देखियो गेरु रङले पोतिएको त्रिभुवन बहुमुखी क्याम्पस, विज्ञान भवन । मेरो कल्पनाले निकै उचाइमा कावा खायो । आहा, एस. एल. सी. पास भएपछि पढ्ने ठाउँ । यहाँ पढेपछि त डाक्टर बन्न सकिन्छ । पाइलट बन्न सकिन्छ । बैज्ञानिक बनेर नयाँ नयाँ खोज र आविष्कार गर्न सकिन्छ । साथीहरूले त यो क्याम्पस पनि देखेका छैनन् । बारम्बार साथीहरूलाई सम्झदैं तानसेन शहरको ओरालो हिडीरहें ।

गाउँ भन्दा निकै सफा थियो तानसेन शहर । घरहरू ठूला ठूला पनि थिए । साना साना पनि थिए । मान्छेहरू पनि हुलका हुल थिए । चिया पसल, होटल रेष्टुरेन्ट, किराना पसल, कपडा पसल, चुरा पोतेका पसल । कतै कतै रेडियो घन्किरहेको थियो । सितलपाटी पुगेपछि त मलाई हेर्न पर्ने कुराले भ्याइ नभ्याइ भयो । त्यहाँ एउटा ठूलो पुस्तक पसल पनि थियो । युवामञ्चको नयाँ अंक आएको रहेछ । छोड्ने कुरै थिएन । स्कूलका किताब भन्दा बाहिरका कुरा जान्ने त्यतिबेलाको स्रोत । टुडीखेल नजिकै दाजूको डेरामा थियो त्यो दिनको बास । टुडीखेल देखेर झन् मोहित भएँ । खुट्टा दुखेपनि शहरलाई आत्मसात गर्ने रहर पटक्कै थाकेको थिएन । टुडीखेलमा पाइला डुलाउन पनि भ्याएँ । ‘एलिस एण्ड वन्डरल्याण्ड’मा जस्तै एक पछि अर्को दृश्यले चकित भइरहेको थिएँ । यत्ति हो मेरो उचाइमा घटबढ भएको थिएन । टुडीखेल नजिकै बस स्टेशन रहेछ । जीवनमा एकै ठाउँ यति धेरै बस पनि कहिल्यै देखेको थिइन । केटाकेटीहरू चिटीक्क परेर यताउता गरिरहेका थिए । उनीहरूको चालढाल मलाई राम्रो लाग्यो । डेरातिर जाँदै गर्दा यहाँ शुद्ध खसीको मःम पाइन्छ भन्ने बोर्डमा आँखा गए । मःमको चर्चा सुनेको थिएँ । सोचेका र नसोचेका रहरहरू एकाएक पुरा भइरहेका थिए । खुशी माथि खुशीका लहरहरू लहराइरहे । मःमको स्वादको अनुभूति पनि लिने अवसर जुरीहाल्यो । आहा ! सुपका साथ ममका डल्लाले मेरो मुख र मन धेरैबेर हाँसिरहे । टिमुर राखेको परपराउँदो चटनी झनै स्वादिलो । सधै शहरमा बस्ने रहर पलायो । शहरमा त रमाइलै रमाइलो र सुखै सुखको अनुभुति गरिरहेको थिए । तर त्यतिनै बेलाको एउटा दृश्यले मन तितो बनायो । हामीले मःम खाँदै गरेको होटेलमा भिडभाड थियो । एउटा मेरै उमेरको केटाले गीत गाउँदै भाँडा माझ्दै थियो बाहिर पट्टी ।

‘आमा रुँदै गाउँ बेसी मेलैमा छोरो रुँदै गोरखपुर रेलैमा ….’

उसको स्वर पनि राम्रो थियो । मैलो टोपी, कुहिनामा अलिकति फाटेको सर्ट र अलि ठूलो पाइन्ट लगाएको थियो । कम्मर ठूलो भएर धागोले बानेर कम्मरमा अड्याएको थियो पाइन्ट । मःम सकिंदै गर्दा मेरो ध्यान केटोले खिचेको थियो । हामी त्यहाँबाट हिड्नै लाग्दा एक जना लक्का जवान एक्कासी आएर एक लात हान्यो । सुरिलो आवाज बन्द भयो । केटो पल्टियो । तुरुन्तै उठेर आँखाबाट आँशु खसाल्दै फेरि भाँडा मस्काउन थाल्यो चुपचाप । पछि बुझें, शहरमा गीत गाउँदै भाँडा मस्काउनु गल्ती मानिदो रहेछ । मन चसक्क भयो । शहरमा खुशी नै खुशीको लहर चल्छ भन्ने मेरो बुझाइमा पहिरो गयो । शहरमा खुशी मात्र होइन रहेछ । दुःखका थुम्काहरू पनि रहेछन् ।
धेरै खुशी र अलिकति दुःखको अनुभव लिएर दाजूको डेरामा फर्किएँ । संयोगले फिल्म हेर्ने रहर पनि त्यसै दिन पुरा हुने भयो । घडीमा साढे पाँच बजिरहेको थियो । छ बजे सन्तोष चलचित्र मन्दिरमा फिल्म हेर्ने टुंगो लाग्यो । दुइ जना दाजूहरू, आमा र एकजना काकीसँगै हामी हलतिर लाग्यौं । बाटोमा काकीले दाजुलाई चारवटा मात्र टिकट काट्न भन्नु भयो । हामी त पाँचजना थियौं । किन चारवटा टिकट काट्न भनेको होला ? सोध्न चाहिँ सोधिन । हलभित्र छिर्नेबेलामा दाइले चारवटा टीकट पालेलाई देखाउँदै हुनुहुन्थ्यो । काकीले मलाइ च्याप्प समाएर काखमा राखेर पछ्यौरी ओडाएर हो बाबु हो भन्दै फटाफट भित्र लैजानु भयो । मेरो टिकटै लागेन । यद्यपी म १२ वर्षको थिएँ, पातलो सानो गाँठीको । यसरी जीवनमा पहिलोपटक तानसेन शहरमा फिल्म हेरें । हिन्दी फिल्म भाषा बुझ्ने कुरै भएन । तर गाडी कुँदाएको, लडाईं गरेको,भागेको । नाच गान । बडो मजा आयो । त्यो फिल्मको नाम बेताब थियो । धेरै पछि थाह पाएँ हिरो सन्नी देवल र हिरोइन चाहिँ अमृता सिंह थिए । हिन्दी बुझ्न थालेपछि त्यो फिल्म तीन पटक हेरें । गज्जव फिल्म रहेछ ।

अर्को दिन बिहानै बुटवल जाने बसमा चढीयो । त्यो मेरो पहिलो बसको यात्रा थियो । काकी र आमाको बीचमा बस्नु पर्ने भयो । मलाइ पनि छुट्टै सिटमा झ्यालतिर बसेर बाहिर हेर्दे जाने रहर नलागेको होइन । तर शहर पसेको खुशीमा रहरलाई घाममा सुकाइदिएँ आज्ञाकारी बाबु बनेर । जब बस हिंड्न थाल्यो, गजबै भयो नि । बाहिरका घर रुख विरुवा त भटाभट पछाडी पछाडी पो दौडन थाले । आधाघन्टा पछि त वान्ता हुन थाल्यो । कष्ट सहेर बुटवल झरें । बुटवल शहर त झनै ठूलो रहेछ । सडक पनि फराकिला । बस, ट्रक, कार, मोटर साइकल, रिक्सा र साइकल त कति कति । बुटवल झरेपछि काकी बिदा भएर आफ्नो माइती तर्फ लाग्नु भयो । आमाले मलाइ कोहि आफन्तकोमा लग्नु भयो । घर निकै सफा थियो । त्यहाँका केटाकेटी पनि सफा थिए । कपडा पनि सफा र चिटिक्क मिलाएर लगाएका थिए । बोल्ने शैली पनि अलि भिन्न थियो । त्यो घर आमाका सानीमाका छोरा दामोदर ज्ञवालीको रहेछ । मामा माइजुले हृदयदेखि नै हामीलाई स्वागत, सम्मान र माया गर्नु भयो । बसमा बान्ता गरेको, बुटवलको गर्मीले मलाई यसैपनि असहज महसुस भइरहेको थियो, त्यसमा अझ मेरा कपडा अलि मैला भएका थिए । गाउँमा सिलाएका कपडा सायद शहरको निम्ति अलि कमसल हुँदाहुन् । फेरि बुटवलका केटाकेटीको बोल्ने, हिड्ने र खेल्ने शैली अलि भिन्न लाग्यो । मलाई कताकता लघुताभास भयो । त्यसैले म चुपचाप सोझो भएर बसिरहें । माइजुले सिसााको गिलासमा सुन्तला रङको सर्वत दिनु भयो । आहा ! यति मीठो लाग्यो । त्यो स्वादको वर्णन म शब्दमा व्यक्त गर्न सक्दिन । आजसम्म त्यस्तो मिठो स्वादको अनुभुती गर्न सकेको छैन । त्यो बहुराष्ट्रि«य कम्पनीको उत्पादन फेन्टा थियो । मैले पहिलो पटक बुटवल शहरमा पिएको थिएँ । खाना खाएर कपिलवस्तुको बस लाग्ने स्टेशनतर्फ लाग्दै गर्दा हामी हस्पिटल लाइनको जनता मिष्ठान्न भण्डारमा पस्यौं । त्यहाँको दुध मलाइको स्वाद पनि मेरो जीवनभरकोलागि अविष्मरणीय बन्न पुग्यो । शहर रहस्यमय लाग्यो । शहरका रहस्य जान्न र अनुभुत गर्न केहि दिन बुटवल घुम्ने रहर नभएको होइन । तर त्यो रहर भन्ने आँट आएन । शहर छाम्ने रहरलाई फेरि एकपटक घाममा सुकाउँदै बसमा चढेर मामाघर गएँ ।

कपिलवस्तु पुगेपछि पनि मेरो मन शहरमै घुम्न थाल्यो । मामाको छोरा शुरेश म भन्दा एक वर्ष मात्र जेठो हुनुहुन्थ्यो । शहरको जीवनशैलीबारे उहाँसँग खुव गफिएँ । उहाँलाई हिन्दी राम्रोसँग आउँथ्यो । धेरै हिन्दी फिल्मका कहानी सुने । मेरो शहर घुम्ने रहरमा यहाँको रहर पनि मिसियो । गाउँकै हाटबजार जाने भनेर घरबाट टाप कस्यौं । करिब डेढ घन्टा हिँडेपछि पूर्व पश्चिम राजमार्ग जितपूर पुगेर बुटवल जाने बस समायौं । अब बस चढ्नु ठूलो कुरा लाग्न छोड्यो । रमाइलो भने लागिरह्यो । बुटवल झरेपछि कहाँ जाने के गर्ने केहि कुनै योजना थिएन । हामीलाई केवल घुम्नु थियो । बजारका गल्ली गल्ली हिड्यौं । जुलेवी खायौं । अण्डा खायौं । चटपटे खायौं । मःम पनि खान भ्यायौं । फिल्म हेर्ने भनेको हल नै भेटिएन । हिंड्दा हिड्दै हामी हाटबजार पुगेछौं । हाजबजार नजिकै विरेन्द्र उद्यान देख्यौं । उद्यानमा हिमाल, पहाड, तराइ समेटेर बनाइएको सुन्दर कलाकृति देखेर खुव रमायौं । परिकथाका बगैंचा जस्तै सुन्दर लाग्यो विरेन्द्र उद्यान । हामीलाई धेरै घुम्नु थियो । जता मन पर्छ त्यतै पाइला बढाइरह्यों । हिंड्दा हिंड्दै बाटै सकियो, हामी त तिनाउ खोलाको किनारमा पो पुगेछौं । खुब हासियो । बल्ल बल्ल फर्केर बस पार्क आएर बस चढियो । शहरमा खुब रमाइयो तर खल्ती रित्तिएको पत्तै भएन । हामीसँग अब दुई रुपैयाँ मात्र बचेको थियो । बसवालाले भाडा माग्यो । दाइले त्यहि दुइ रुपैयाँ दिनु भयो । बसवालाले अरु देउ भन्दै थियो । दाइले हातको इसाराले छैन भन्नु भो । दाइको मायालु अनुहार देखेर बसवाला पनि मुस्कायो । हामी जितपुर ओर्लेर एक घन्टाको बाटो पैदल डराउँदै डराउँदै हिड्यौं । घर पुग्दा आकाशमा तारा देखिन थालेका थिए । मेरो शहर घुम्ने रहर पनि सेलाउँदै गएको थियो ।