प्रचण्डपछि माधव नेपालले पनि भने: 'शेयर बजार अरुलाई लुटेर कमाउने प्रवृत्ति' - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रचण्डपछि माधव नेपालले पनि भने: ‘शेयर बजार अरुलाई लुटेर कमाउने प्रवृत्ति’



काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शेयर बजारलाई दलाल पुँजी भनेका छन् । यसअघि नेकपा माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि शेयर बजारबारे कठोर टिप्पणी गरेका थिए ।

नेता नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका हुन् । उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरुमा आत्मविश्वास बढ्न नसकेको दाबी गरे ।

अध्यक्ष नेपालले दलाल पुँजीको दबदबा बढिरहेकाले देशमा मिहिनेत नगरिकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए । उनले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताए । उनले पार्टीले पनि आफ्ना कार्यकर्ताहरुले कसरी काम गरिरहेका छन् भनेर अनुगमन गर्नुपर्ने बताए

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरु सरकार भन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताए । अध्यक्ष नेपालले देश विकास गर्नका लागि आफैं अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताए । उनले वंशानुगत तानाशाही प्रवृत्ति सकिसकेपनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताए ।

अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताए । उनले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रुपमा नेकपा समाजवादी स्थापित भएको दाबी समेत गरे । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरुले देशमा आफूलाई योग्य र सक्षम देखाउनु पर्ने बताए ।