हाम्रो पार्टीको सरकार बने वृद्धभत्ता ५ हजार पुर्‍याउछौँ- माधव नेपाल - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हाम्रो पार्टीको सरकार बने वृद्धभत्ता ५ हजार पुर्‍याउछौँ- माधव नेपाल



नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्।

उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको दाबी पनि गरे।

बिहीवार विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको काम आफूले गरेको दाबी गरे।

‘हामीले सुकुम्वासी समस्यालाई देख्यौँ, त्यसको समाधान केही गर्‍यौं। ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्‍यौं’, उनले भने, ‘यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ। बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ। १०० बाट शुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउनेछौँ।’

उनले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताए।अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतिका लागि विद्युत र पर्यटन क्षेत्रको विस्तार गर्न जरुरी रहेको बताए।

नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर गरे।