गुल्मीमा एमाले र एकीकृत समाजवादीबीच एकता - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

गुल्मीमा एमाले र एकीकृत समाजवादीबीच एकता



काठमाडौं– आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागि गुल्मीमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मेलनबीच दुवै पार्टीबीच एकताको घोषणा गरिएको हो ।

घोषणा सभामा एमालेका पार्टी उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र जिल्ला अध्यक्ष नरेश भण्डारीलगायतहरु सहभागी थिए । एकतापत्रमा एमालेको तर्फबाट गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थी र वालसिंह काउछा र एकीकृत समाजवादीको तर्फबाट जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीको हस्ताक्षर छ ।

दुवै पार्टीले राष्ट्रियताको संरक्षण, सामाजिक न्यायसहितको स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वामपन्थी तथा देशभक्त, शक्तिहरुको विजय आवश्यक रहेको बताका छन् । ‘आसन्न २०७९ मंसिर ४ गतेको संघीय तथा प्रादेशिक निर्वाचन देशका लागि दूरगामी महत्वको राजनीतिक परिघटना हो । संविधानको अग्रगामी कार्यान्वयन गर्दै राष्ट्रियताको संरक्षण, सामाजिक न्यायसहितको स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि वामपन्थी तथा देशभक्त, शक्तिहरुको विजय आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले विगतबाट शिक्षा लिँदै समाजको प्रगतिशील रुपान्तरणको लक्ष्यय पूरा गर्ने दृढ प्रतिबद्धतासहितको वाम एकताको अग्रसरता लिनु हरेक इमान्दार वामपन्थीको कर्तव्य हो ।’

दुई निर्वाचन क्षेत्र रहेको गुल्मी एमालेका विष्ट, ज्ञवाली, एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलगायतको गृह जिल्ला हो ।