माधव नेपालले भने: दुई अध्यक्षको कारणले सबै बिग्रियो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

माधव नेपालले भने: दुई अध्यक्षको कारणले सबै बिग्रियो



काठमाडौँ — पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले दुवै अध्यक्षको कारणले समयमा सबै काम पुरा नभएको बताएका छन् ।

शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले नेकपाकाे एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र संकल्प दृढ हुनुपर्नेमा त्यसो नभएको बताए। उनले भने, ‘जहाँ चाह त्यहाँ राह । इच्छाशक्ति नै छैन त कसरी हुन्छ?’एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको भन्दै उनले पार्टी भित्रको जटिलतालाई अन्त्य गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए।

एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नदेखाउँदा पार्टी एकता प्रक्रिया प्रभावित बनेको आरोप लगाएका छन् । नेता नेपालले विधि–विधान अनुसार पार्टीलाई अगाडि बढाउन सके समस्याहरु स्वतः समाधान भएर एकता प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेका छन्। पार्टी भित्र हुने विवादहरुलाई सामान्यीकरण गर्न तत्पर रहनुपर्ने भन्दै नेता उनले एकता प्रक्रिया कुनै अनौठो कुरा नभएको र चाँडै टुंगो लगाउन सकिने बताए।

पत्रकारहरुसँगको कुराकानीमा सरकारप्रति केही नरम रुपमा प्रस्तुत भएका नेता नेपालले अहिले सरकारको काम कारवाहीलाई पार्टीभित्र पनि छलफल गर्नुपर्ने औ‌ंल्याएका छन्। छलफल र बहसमार्फत जनपक्षीय कामका लागि सरकारलाई दबाव दिन अनुगमन प्रणाली बलियो बनाउनु पर्ने उनको धारणा छ। ‘सरकारका काम कारवाहीमा ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने, भ्रष्टाचार गर्नेलाई कारवाही गरेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘दण्डहीनता कायम रहे यथास्थितिमा सुधार गर्न सकिदैँन।’