गठबन्धन तोडिने माधव नेपालको संकेत - Himal Post Himal Post
  • २७ आश्विन २०८१, आईतवार
  •      Sun Oct 13 2024
Logo

गठबन्धन तोडिने माधव नेपालको संकेत



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोडिने संकेत गरेका छन् । उनले गठबन्धन भित्र भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताए ।

अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । भने, “अब काठमाडौं र सदरमुकाममा बस्ने होइन । अब बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन ।”

अध्यक्ष नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिए ।