हामीलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।
जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा मंगलबार आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए ।
संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँचदलीय गठबन्धन अवधारणा अघि सारिएको उनले बताए । जनताले २०७४ सालको निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको अध्यक्ष नेपालको आरोप थियो ।
‘गठबन्धन संविधानको रक्षाका लागि बनेको हो’, उनले भने ।