माधव नेपालमाथि अगाडि बढ्यो कारबाही- एक लाख जरिवाना वा दुई वर्ष कैद हुनसक्ने - Himal Post Himal Post
  • २७ जेष्ठ २०८३, बुधबार
  •      Wed Jun 10 2026
Logo

माधव नेपालमाथि अगाडि बढ्यो कारबाही- एक लाख जरिवाना वा दुई वर्ष कैद हुनसक्ने



नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले पत्र काटेको छ।

निर्वाचन आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन निर्देशन दिएका हुन्।

नेपालले दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र रौतहट क्षेत्र नम्बर १ का कारर्यकर्तालाई सम्बोधनका क्रममा आफूले जिते युवाहरुलाई सित्तैमा विदेशमा रोजगारी दिलाइने विवादित अभिव्यक्तिसहितको आश्वासन दिएका थिए।

आयोगले प्रहरीलाई काटेको पत्रमा भनिएको छ, ‘आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडिएको भन्ने समाचार प्रकाशन भएको, निजले ‘बिना ढेउवा के भिसा मिल्ने है. टिकट मिलते हैं, काठमाडौंमे तालिम मिल्ने’ भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएकोले सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीयाट अध्ययन तथा परीक्षण गर्दा निजको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेखिएको छ।’

निर्वाचन (कसूर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा (१) मा निर्वाचनको सिलसिलामा उम्मेदवार निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै किसिमको प्रभाव पार्न हुँदैन भन्ने समेतको व्यवस्था रहेको पत्रमा उल्लेख छ।

उक्त ऐनको उपदफा (१) को ख र चमा कुनै किसिमले लोभ लालच देखाउन वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगले दफा २० को उपदफा (४) मा उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा सजाय हुनेछ भन्ने व्यवस्था भएको भन्दै नेपाललाई कारवाही थाल्न प्रहरीलाई निर्देशन दिएको हो।

‘अध्यक्ष नेपालबाट निर्वाचनको मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेकोले त्यस सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिन आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ’, आयोगले प्रहरीलाई भनेको छ।