राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी



काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रोग पहिचानका लागि बुधबार दिल्ली लैजाने तयारी गरिएको छ । १२ दिन देखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पातालमा भर्ना भएर उपचार गरिरहेका राष्ट्रकविको शरीरभित्र रक्तश्राव भइरहेको र त्यसको अवस्था पत्ता लगाउन चिकित्सकले विदेश लैजान सुझाएको राष्ट्रकविको परिवारले जानकारी दिएको छ ।

अब को ५ महिनामा सय बर्ष पुग्न लाग्नु भएका राष्ट्रकविले जीवनको लामो समय स्वस्थ जीवन बिताउनु भएको थियो । गत ४ महिना देखि उहाँको स्वास्थ्यमा समस्या देखिंदै आएको परिवारले बताएको छ । बिगत १२ दिनको अस्पताल बसाईमा उहाँको अवस्था स्थिर छ । अहिलेसम्म राष्ट्रकविलाई ५ प्रिन्ट रगत दिइसकिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनु भयो ।

राष्ट्रकवि घिमिरेको सानो आन्द्राका साथै दिसामा पनि रक्तश्राव भइरहेको छ । तर, कहाँबाट रक्तश्राव भइरहेको छ भन्ने अवस्था पत्ता लगाउने इन्टेरेस्कोपी प्रबिधि नेपालमा नभएकोले विदेश लैजान सुझाव दिएको उनको उपचारमा संलग्न डा बिबेक शर्माले जानकारी दिनु भयो ।

परिवारका अनुसार दिल्लीको मेदान्त अस्पतालमा राष्ट्रकवि घिमिरेको इन्टेरेस्कोपी गरिने बताइएको छ । राष्ट्रकवि घिमिरेलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

भेटमा राष्ट्रकविको उपचार सरकारले व्यहोर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गर्नु भएको थियो । नेपाली साहित्यको भकारी र भण्डारलाई ओजस्वी तुल्याउने राष्ट्रकविको दीर्घायुको कामना गर्दै देशका बिभिन्न भागमा बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।