एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत पाउने नेपालको दाबी - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत पाउने नेपालको दाबी



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरेका छन्।

मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको जिकिर गरे।

गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे। उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए।

मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उनले आग्रह गरे।

पार्टीका सबै सङ्गठनलाई मजबुत बनाउने दायित्व सबै नेता/कार्यकर्ताको रहेकाले गाउँगाउँमा सङ्गठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए। उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए। छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए।

उनले मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्याउने प्रयास गरेको बताए। रासस