चुनाव सकिएलगत्तै माधव नेपालले फेरे बोली - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

चुनाव सकिएलगत्तै माधव नेपालले फेरे बोली



एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनाव सकिएलगत्तै कांग्रेससँग सहकार्य नगर्ने संकेत गरेका छन् । उनले चुनावी नतिजाले आफूहरूलाई पाठ सिकाएको भन्दै कांग्रेसले बढी फाइदा लिएको बताए ।

रौतहट १ बाट निर्वाचित भएपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले चुनावी परिणामले फेरि वाम एकता गरेर सरकार बनाउनुपर्ने संकेत गरेको, तर केही गलत प्रवृत्तिका कारण त्यसो हुन नसक्ने बताए ।

‘वामहरू सिद्धान्तका निम्ति, आदर्शका निम्ति अगाडि बढ्न चाहेका हुन् भने तिनीहरूबीच एकता हुन्छ,’ नेता नेपालको भनाइ थियो, ‘वामको नाममा गलत प्रवृत्ति बोकेर हिँड्छन् भने त्यो प्रवृत्तिसँग एकता सम्भव छैन ।’

कांग्रेसले गठबन्धनका नाममा फाइदा लिएको उनको आरोप थियो । ‘गठबन्धनका नाममा एकीकृत समाजवादी र माओवादीलाई घाटा भयो,’ उनले भने, ‘हाम्रै कारण कांग्रेसले नाफा लियो ।’

नेपालले अब बन्ने सरकारको विषयमा अहिले नै आफूले केही भन्न नसक्ने बताए । आफू इमानदार भएकाले रौतहटका जनताले आफूलाई विजय गराएको बताउँदै उनले अपेक्षा गरेअनुसार परिणाम नआएकाले गम्भीर भएर सोच्नुपर्ने उल्लेख गरे ।