माधव नेपालले भने: '१० बुँदे धोका हो भन्दा मानेनन्, अहिले बिजोग भयो' - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

माधव नेपालले भने: ‘१० बुँदे धोका हो भन्दा मानेनन्, अहिले बिजोग भयो’



काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले १० बुँदे सहमति धोका हो भन्दा आफूमाथि नेताहरू खनिएको तर अहिले १० बुँदे सहमति र १० बुँदेवाला नेताहरूको हरिबिजोग भएको बताएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति उल्लंघन गरेर १० बुँदेको बिजोग बनाएको आरोप लगाए। उनले शनिबार पार्टीको सिन्धु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा १० बुँदे सहमति गरेर एमालेमै बस्नेको बिजोग बनाएको बताएका हुन्।

१० बुँदे कार्यान्वयन गर भन्नेहरूलाई ओलीले हेप्न थालेको उनले बताए। १० बुँदे भन्ने साथीहरूको हरिबिजोग भएको र उनीहरूले पार्टीमा कुनै मर्यादा र सम्मान नपाएको नेपालको भनाइ थियो। वाग्मती र प्रदेश १ मा छिट्टै एमाले नेतृत्वको सरकार ढल्ने पनि उनले बताए। वाग्मतीमा राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार बन्ने

उनले बताए। प्रदेश १ मा यही सात राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने उनले बताए। सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल र एमाले चौथो दल भएको उनले बताए। त्यसक्रममा अहिलेको गठबन्धन निर्वाचनसम्म नै कायम रहने दाबी गरे।

नेता नेपालले नेताहरूको कुनै सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैलीकै कारण एमालेबाट आफूहरूले विद्रोह गरेको बताए। ‘कुनै मर्यादा छैन। कुनै सम्मान छैन। कुनै छलफल छैन। हो यी सबै कारणले हामीले एमालेबाट विद्रोह गर्नुपरेको हो,’ अध्यक्ष नेपालले भने।