नक्कली 'एम अधिकारी'ले खोले पोल, एमाले र गभर्नरमाथि थप संकट - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नक्कली ‘एम अधिकारी’ले खोले पोल, एमाले र गभर्नरमाथि थप संकट



काठमाडौँ- नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेको एम अधिकारी प्रकरणले एमाले र गभर्नरलाई थप अफ्ठ्यारोमा पारेको छ । एम अधिकारी खोज्न धुरन्धर लागेका एमाले नेताहरूले एकजना व्यक्ति भेट्टाएपनि उनले नै पार्टी र गभर्नरलाई अफ्ठ्यारोमा धकेलेका छन् ।

एमालेका नेताहरुले एम अधिकारी भनी प्रस्तुत गर्न खोजेका पात्रले सामाजिक सञ्जालमार्फत दिएको प्रष्टोक्तिले एमालेको पोल खोलिएको छ । एमालेले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई जोगाउने उद्देश्यले झूठा दाबी गर्दै नक्कली पात्र तयार गरेको पुष्टि भैसकेको छ ।

धुरन्धर खोजेर भेट्टाएर एम अधिकारी बनिदिन भन्दै एमालेका नेताहरुले अनुरोध गरेका विराटनगरका चार्टर्ड अकाउण्टेन्ट मनोज अधिकारीले सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै आफूलाई केही दिनअगाडि मात्र पार्टीको जिम्मेवार व्यक्तिले अर्थ तथा योजना विभागमा राखिएको मौखिक जानकारी गराएको उल्लेख गरेका छन् ।
उनको उक्त स्पष्टोक्तिले एम अधिकारी प्रकरणमा गभर्नर महाप्रसाद अधिकारी जोगाउनका लागि केही दिनअघि मात्रै मनोज अधिकारीलाई एमाले नेताहरुले कन्भिन्स गर्न खोजेका देखिन्छ । उनलाई एमालेका केही नेताले पार्टीले पछि हेर्छ भन्दै अहिले एम. अधिकारी बनिदिन आग्रह गरेका थिए । पार्टीको नेताको तीव्र दवाब आएपछि उनी यो प्रकरणबाट भाग्दै हिजोदेखि सम्पर्कविहीन बन्न पुगेका थिए ।

आफ्नो प्रष्टोक्तिमा उनले आफू एमालेको सक्रिय सदस्य भने रहेको बताएका छन् । यस्तै, उनले आफू पार्टीका नेताहरुले भनेजस्तो एमालेको अर्थ तथा योजना विभागको सदस्यमा बस्न नसक्ने समेत प्रष्ट पारेका छन् ।

‘केही दिन अगाडि पार्टीको अर्थ तथा योजना समितीमा तपाइलाई मनोनय गरियो भन्ने कुरा पार्टीका जिम्मेवार व्यक्तित्वहरुबाट मौखिक रुपमा जानकारी पाएको र अहिलेको कार्यगत व्यस्तताले गर्दा सोको यथार्थ यकिन गर्न असमर्थ रहेको थिएँ ।’ मनोज अधिकारीले भनेका छन्–‘हाल उक्त समितिको नाम गभर्नर महाप्रसाद अधिकारी ज्यू सँग मिल्दोजुल्दो भएकोले उक्त समितिमा म नै मनोनित भएको हो या हैन भनी हालसम्म यकिन छैन र मनोनीत नै भएको हो भने पनि हालको असमान्य परिस्थिति तथा मेरो व्यक्तिगत कारणले म उक्त पद धारण गर्न असमर्थ रहेको व्यहोरा सम्बन्धित सबैमा जानकरी गराउन चाहान्छु ।’

यो प्रकरणमा मनोज अधिकारीको प्रष्टीकरणसँगै एमालेले अर्थ तथा योजना विभागमा राखेको एम अधिकारी महाप्रसाद अधिकारी नै रहेको थप पुष्टि भएको छ । यही प्रकरणका कारण महाप्रसाद अधिकारीमाथि राजीनामा गर्नुपर्ने चौतर्फी दवाब छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मार्गप्रशस्त गर्न अधिकारीलाई भनिसकेका छन् ।
तर, अधिकारी भने मौद्रिक नीति ल्याएपछि मात्र मार्गप्रशस्त गर्ने विषयमा सोच्न सकिने मूडमा रहेका बुझिएको छ ।
यो प्रकरणमा एमालेका नेताहरुले जानाजान आफूलाई फसाएको गभर्नर अधिकारीको बुझाई छ । यहीकारण उनी पछिल्लो समय एमाले नेताहरुसँग रुष्ट बनेका छन् ।