विकास कोषमा लागेको ताला खुल्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विकास कोषमा लागेको ताला खुल्यो



अाचार्य प्रदीप
बुटवल, २९ भदौ । तलब नपाएको भन्दै ज्यालादारी कर्मचारीले लुम्बिनी विकास कोषको गेटमा लगाएको ताला सहमतिपछि बुधबार खोलिएको छ । तत्काल तलब निकासा गर्ने कोषका पदाधिकारी र आन्दोलनरत कर्मचारीबीचमा भएको सहमतिपछि ज्यालादारी कर्मचारीले गत भदौ १३ गते कोषको मुख्यद्वारमा लगाएको ताला खोलिएको हो ।

कोेषले सबै ज्यालादारी कर्मचारीको तलब दिने प्रतिबद्धता गरेकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइ ताला खोल्न सहमत भएको संघर्ष समितिका सचिव अहद खानले जानकारी दिए । उनले कर्मचारीको काम र तलबमा समेत कोषको बोर्डका सदस्यहरूले राजनीतिकरण गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको जनाउँदै आगामी दिनमा त्यस्तो भए कडा संघर्ष गर्ने चेतावनी दिए ।

विकास कोषको सचिवालय बैठकले सबै ज्यालादारी कर्मचारीको तलब दिने निर्णय गरेपछि आन्दोलनरत कर्मचारीले आन्दोलन फिर्ता लिएको कोषका कार्यवाहक उपाध्यक्ष सुरेन्द्रमुनी शाक्यले जानकारी दिए । विभिन्न बहानामा लुम्बिनीमा पटक–पटक आन्दोलन हुँदा विकास निर्माणका कामसमेत प्रभावित भएको भन्दै लुम्बिनीको विकासका लागि अबका दिनमा सबै जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । बोर्डका सदस्यहरूको दबावमा संस्कृति मन्त्रीले कांग्रेस समर्थित ११ जना कर्मचारीहरूलाई मात्रै तलब निकासा गरेपछि बाँकी कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

कोषको बोर्ड बैठकले आफूखुसी ज्यालादारी ११ जना कर्मचारीहरूलाई बैंक भौचरमा फाराम भराई तलब भत्ता दिन खोज्दा बाँकी तलब नपाएका अरू कर्मचारीहरूले तालाबन्दी गरेका थिए । कोषको ५ सदस्यीय बोर्डमा सबै कांग्रेसका प्रतिनिधि छन् । यसअघि २०७४ माघ १० गते संसदीय समितिले आन्तरिक भर्ना बन्द गरी खुल्ला भर्नामार्फत मात्र कर्मचारी नियुक्ति गर्न निर्देशन दिएको थियो । तालाबन्दीले कोषको कामकाज ठप्प भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति जुठबहादुर टुहुरे खड्गीको नेतृत्वमा सांसदहरूको टोली लुम्बिनी आएको थियो । टोलीले तत्काल सहमति गरी विवाद समाधान गर्न कोषलाई निर्देशन दिएको थियो ।