लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन आज: सत्ता पक्ष कमजोर, पाण्डेले बाजी मार्दै - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन आज: सत्ता पक्ष कमजोर, पाण्डेले बाजी मार्दै



काठमाडौं– लुम्बिनी प्रदेशअन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुँदैछ । उपनिर्वाचनमा एमाले ओली समूह र संयुक्त गठबन्धनबाट गरी दुई जनाले उम्मेदवार बनेका छन्।

काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार बनेका छन्।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको छ। कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थलको व्यवस्था मिलाइएइको छ भने सबै मतदाताले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ। यस निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन्।

प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशले सूचना प्रकाशित गर्दै यसअघि सूचीमा नपरेका जसपाबाट मन्त्री रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मालाई पूरक मतदाता नामावलीमा समावेश गर्ने जानकारी दिएको छ।

चारजना सांसदको नामावली समावेश भएसँगै प्रदेश सभाबाट मतदाता ८३ पुगेका छन्। स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी २१७ मतदाता छन्।

विपक्षी गठबन्धन अगाडि

लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय पुगेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख हुन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ हुन्छ ।

एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ । विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल १६ सय ६८ मतभार छ ।

कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ । जसपा दुई सांसद गठबन्धनको पक्षमा उभिएका छन् । यस्तै, राप्रपाका दुई र स्वतन्त्रबाट निर्वाचित एकजनाको गरी एक सय ४४ मतभार छ ।

राष्ट्रिय राजनीतिमा आफ्नै पार्टीसँग असन्तुष्ट एमालेको खनाल–नेपाल पक्षसँग पनि लुम्बिनीमा उल्लेख्य मतदाता छन् । प्रदेश सभामा नै दुईजना सांसद स्पष्ट खुलेका छन् भने गुल्मीलगायत जिल्लामा पनि खनाल–नेपाल समूहका मतदाता छन् ।