माघदेखि सञ्चालनमा आउने भयो बुटवलमा केबलकार - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

माघदेखि सञ्चालनमा आउने भयो बुटवलमा केबलकार



काठमाडौं- रूपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडासम्मको लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ।

कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकारको निर्माण पुसमा सम्पन्न भएर माघ १ गतेदेखि सञ्चालनमा आउने बताएका हुन्।

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण हुने बताइएको छ।

केवलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब चार सय मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ। तल्लो स्टेशनको सब–स्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भइ सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ। ९ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेका टावरको कार्य अगाडि बढिरहेको छ,’ उनले भने।

माथिल्लो स्टेशनमा सब–स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जा आयात गर्ने काम अगाडि बढेकोसमेत उनले बताए।

ढकालले माथिल्लो स्टेशनमा मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजनासँगै सम्पन्न गर्नुपर्ने भएकाले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानो सर्तबमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको जानकारी दिए।

माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आवद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको उनले बताए।

केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।