पार्टी फेर्दै पद पाउँदै गर्ने लक्की शेर्पा फेरि छिरिन् एमालेमा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पार्टी फेर्दै पद पाउँदै गर्ने लक्की शेर्पा फेरि छिरिन् एमालेमा



काठमाडौं- मानव तस्करीको आरोप लागेकी पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्। उनी पटकपटक पार्टी परिवर्तन गरेर लाभको पद पाउँदै आएकी छन् ।

एमालेबाट समानुपातिक सांसद बनिसकेकी उनी माओवादी प्रवेश गरेलगत्तै अस्ट्रेलियाका लागि राजदूत बनेकी थिइन् । यसपटक पनि पदकै लागि बार्गेनिङ्ग गरेर शेर्पा एमाले छिरेको चर्चा भैरहेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधान सभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर पार्टीमा स्वागत गरे।

शेर्पा यसअघि एमालेमै थिइन्। पछि उनी माओवादी प्रवेश गरेकी थिइन्। २०६४ सालको संविधान सभामा उनी एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

माओवादीमै हुँदा उनी अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।

यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि एमालेमा प्रवेश गराएका छन्।