कोरोना तेस्रो लहरको संकेत, ह्वात्तै संक्रमित बढेपछि लकडाउनको तयारी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कोरोना तेस्रो लहरको संकेत, ह्वात्तै संक्रमित बढेपछि लकडाउनको तयारी



काठमाडौं– केही दिनयता विश्वभर नै कोरोना संक्रमणको डर एकाएक बढेको छ । छिमेकी मुलुक भारतमा दैनिक करिव एक लाख संक्रमित भेटिन थालेका छन् । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै संक्रमित हुनेको संख्या पछिल्लो साता ह्वात्तै बढेको हो।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर पछिल्लो २४ घण्टामा मात्रै २२ लाख ९४ हजार ०३९ जना संक्रमित थपिएका छन्। दैनिक संक्रमणमा यो संख्या कोरोना संक्रमण सुरु भएदेखिकै सबैभन्दा धेरै हो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२५ जनाको मृत्यु भएको छ। यसअघि मंगलबार ५८ हजार ९७ जनामा कोरोना पुष्टि भएको थियो। अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजारभन्दा धेरै संक्रमित थपिएका हुन्।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजारभन्दा बढी छ। अहिलेसम्म भारतमा ३ करोड ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

भारतमा संक्रमण ह्वात्तै बढ्न थालेपछि नेपालमा पनि संक्रमित थपिएका छन् । संक्रमण बढेसँगै यसको रोकथामबारे चासो राख्न थालिएको छ ।

लकडाउन हुनसक्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेको भन्दै अस्पतालका ३० प्रतिशत बेड कोभिड संक्रमित बिरामीले भरिए स्मार्ट लकडाउनमा जाने संकेत गरेको छ। मन्त्रालयकी प्रवक्ता मिश्राले बेडको स्थितिबारे रिपोर्टिङ गर्न अस्पतालहरुलाई निर्देशन दिइएको जानकारी दिएकी छन्।

मिश्राका अनुसार स्मार्ट लकडाउन गाइडलाइनमा ३० प्रतिशतभन्दा बढी बेड भरिएमा जोखिमको सूचक मानिन्छ। त्यस्तो अवस्था आउन नदिन सबै नागरिकले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। उनले भनेकी छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम संख्याभन्दा बढी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। डब्लुएचओले प्रत्येक हप्ता प्रतिहजार जनसंख्यामा कम्तीमा पनि एउटा आरटीपीसीआर हुनुपर्ने भनेको छ।

नेपालमा त्योभन्दा बढी नै भइरहेको छ। तर प्रदेशमा भने यो मापदण्ड पुगेको छैन। प्रदेशमा पनि लक्ष्यअनुसार परीक्षण गर्न सकेमा निगरानीको दायरामा ल्याउन सकिने उनको भनाइ छ। कन्ट्याक्ट ट्रेसिङ गर्ने, सम्पर्कमा आएका व्यक्तिहरुको निगरानी तथा परीक्षण, नाकाहरुमा निगरानी गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबै प्रदेशलाई पनि पनि यसैअनुरुप काम गर्न अनुरोध गरेको छ।

नेपालमा अहिले ५ हजार २२५ जना सक्रिय कोरोना संक्रमित छन्। उनीहरुमध्ये ९० प्रतिशत होम आइसोलेसनमा छन्।

नेपालमा हालसम्म ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। ओमिक्रोन पत्ता लगाउन मन्त्रालयले जिन सिक्वेन्सिङको काम गरिरहेको प्रवक्ता मिश्राले बताइन्। आगामी माघ दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने मन्त्रालयको आँकलन छ।

त्यसैलाई मध्यजनर गर्दै मन्त्रालयले -यापिड एक्सन प्लान तयार गरिरहेको मिश्राले सुनाइन्। ओमिक्रोन रोकथामका लागि अस्पतालमा बेड व्यवस्थापन, पूर्वाधार विकास, अक्सिजन तथा औषधिको व्यवस्थापनमा लाग्न विज्ञहरुको सुझाव दिँदै आएका छन्।