चलचित्र समीक्षा: 'लिलि बिली' हेर्न पुगेका दर्शक परे 'इल्ली बिल्ली' - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

चलचित्र समीक्षा: ‘लिलि बिली’ हेर्न पुगेका दर्शक परे ‘इल्ली बिल्ली’



किङ खनाल/काठमाडौं-

यदि तपाईँ नेपाली चलचित्र लिली बिलि हेर्न जाँदै हुनुन्छ भने निर्णय बदल्नुस यो समय र पैसाको बर्बादी मात्र हुनेछ । खासमा यो चलचित्र हेरेपछी तपाईँलाई लाग्नेछ समय र पैसा त खत्तमै भयो । अनि तपाईँलाई गाली गर्न मन लाग्ने छ कि यस्तै चलचित्र बनाउनेले हो नेपाली चलचित्र उद्योगको शिर उच्च बनाउन नसकेको ।

नयाँ वर्षको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘लिली बीली’ चर्को विज्ञापन गरेपनी सुपर फ्लप हुने सम्भावना बढेको छ । हलमा पुगेका दर्शकको प्रतिक्रियाले यो चलचित्र नभएर म्युजिक भिडियो भएको बताएका छन् ।

काफिया फिल्म्स, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेन्ट द्वारा निर्मित लामोसमय प्रतीक्षा गरिएको चलचित्र लिलि बिलीमा दृश्य, पात्र तथा कथालाई निकै नै खल्लो तरिकाले प्रस्तुत गरिएको छ । अधिकांश दृश्यलाई अनावश्यक लामो बनाएर पट्यारलाग्दो देखाइएको छ भने कुनै पात्रलाई अनावश्यक फोकस गरेर देखाइएको छ ।

नेपालीमा एउटा उखान छ नि ‘माल पाएर चाल नपाउने’, हो यो चलचित्रमा पनि निर्देशकको हातमा अब्बल कलाकार, अब्बल दृश्य र अब्बल कथा हुँदा हुँदै निर्देशक मिलन चाम्सले प्रयोग गर्न नजानेको सामान्य मान्छेले पनि बुझ्न सक्छ । कतिपय कलाकारलाई भने बढी प्रस्तुत गर्दा बिग्रेको छ ।

यो चलचित्रका नायक प्रदिप खड्कालाई पनि प्रस्तुत गर्न सकिएको छैन भने नवनायिका जसिता गुरुङलाई बढी जिम्मेवारी दिँदा चलचित्रको इजार फुस्किएको छ । अनावश्यक रुवाई, अनावश्यक पात्र पनि छन् चलचित्र भित्र । कतिपय सह-कलाकारको ठाउँमा राम्रो कलाकार राख्न नसक्दा पनि यसको सुन्दरतामा ह्रास आएको छ ।

हामीले केही दर्शकको प्रतिक्रिया पनि लिने प्रयास गर्दा अधिकांसले यो चलचित्र हेर्न आएर गल्ती गरेको बताए । नायिका जसिता गुरुङलाई डमीको रूपमा प्रस्तुत गरिएको र अन्य कलाकारलाई अन्याय गरिएको बताए । त्यतिमात्र होइन दर्शकमाथि भने अपमान नै गरिएको उनीहरूले बताए ।

चलचित्रमा प्रियंका कार्की र अनुप विक्रम शाहीलाई अन्याय गरिएको छ । उनीहरू खासमा पाहुना कलाकार मात्र हुन् यो चलचित्रमा।

अनुप विक्रम र प्रदिप खड्काको फाइटको सिनमा भने निकै लज्जाबोध हुन्छ दर्शकलाई। त्यो दृश्यमा प्रयोग गरिएको रगत पनि खल्लो देखिएको छ ।

निर्देशकले यतिसम्म लापरबाही गरेका छन् कि एउटा दृश्यमा फोन कानमा लगेकों देखिएको छ तर डायल भने नगरेको देखिएको छ । यो सानो तर निकै दर्शकले ख्याल गर्ने गल्ती हो । त्यतिमात्र होइन नायिका जसिता गुरुङको मेकअप सुरु देखि अन्त्यसम्म एउटै छ, नायिकालाई अनावश्यक सिनमा देखाएर उनको कन्फीडेन्ट आउट गरिएको छ । कुनै दृश्यमा उनलाई आँखा झिम्काउन १ मिनेट लाग्छ । उनलाई मान्छेको रोल दिएपनि रोबर्टको रोल गरेजस्तो देखिन्छ ।

समग्रमा निकै धेरै बजेट खर्च गरेको भनिएपनि चलचित्रमा विदेश जाने आउने र खाने खर्च भन्दा अन्य खर्च गरेको देखिँदैन । यति बजेटमा धेरै राम्रो चलचित्र बनाउन सकिन्थ्यो ।

आशा गरौँ अब बन्ने चलचित्रले भने दर्शकलाई जिस्क्याउने छैनन् ।