लीले भेटे ओली: भेटवार्तामा के भयो कुरा ?
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरू अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा. राजन भट्टराई, अन्जान शाक्यलगायत थिए ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्सु सोमबार काठमाडौं आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आजै अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको आजै भेटवार्ता हुनेछ ।
अध्यक्ष लीले बुधबार (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनर्निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
अध्यक्ष लीको नेतृत्वमा भ्रमण दलमा ६ चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अरू कर्मचारीसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी आउँदो बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्किने कार्यक्रम छ । रासस