लौरो अभियानका अध्यक्षलाई आयोगले भन्यो- बालेनको समर्थन छ भन्दै किन हिँडेका ? - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

लौरो अभियानका अध्यक्षलाई आयोगले भन्यो- बालेनको समर्थन छ भन्दै किन हिँडेका ?



निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार कोषराज सुवेदीलाई दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको साथ छ, लौरोको विजय निश्चित छ’, भनी प्रचार–प्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ।

उक्त कार्यबाट मङ्सिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने तथा आम मतदातासमेतलाई भ्रमित गर्ने कार्य भएकाले आफूलाई अमूक व्यक्तिको समर्थन छ भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्दा जानाजान प्रचलित निर्वाचन कानुनको उल्लङ्घनसमेत भएको देखिएको आयोगको पत्रमा जनाइएको छ। आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचार–प्रसार गरेको विषयमा यसपूर्व नै पत्राचार गरेको थियो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ञ)मा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने र खण्ड (ठ)मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टीका–टिप्पणी गर्न वा गराउन नहुने भन्ने व्यवस्था छ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता बनाई असोज १२ गतेदेखि लागू गरिसकेको छ। ऐनको दफा २३ को उपदफा ९१० मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए÷नभएको सम्बन्धमा आयोगले आवश्यकतानुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा ९२० ‘उपदफा ९१० बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लङ्घन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ।

उपदफा (३) मा दफाको उपदफा ९२० बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

उल्लेखित सन्दर्भमा तपाईँको दललाई आयोगबाट यसपूर्व दिइएको निर्देशनविपरीत पुनः सोही कार्य दोहोरिएबाट तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम रु एक लाखसम्म जरिवाना किन गर्नु नपर्ने हो?’, सो पार्टीका अध्यक्ष घिमिरेलाई सोधएको पत्रमा भनिएको छ, ‘यो पत्र तपाईँलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आयोगमा आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्नुहोला, अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा निर्णयानुसार अनुरोध छ।’

दलीय आबद्धता स्पष्ट नगरी ‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहको साथ छ, लौरोको विजय निश्चित छ’ भनी प्रचार–प्रसार गरेको सोही विषयमा सोही आयोगले उक्त दलका उम्मेदवार सुवेदीलाई बेग्लै पत्र पठाई स्पष्टीकरण सोधेको हो।