निर्वाचन आयोगले भन्यो- 'लौरो' चुनाव चिन्ह स्वतन्त्रको होइन, भ्रममा नपर्नु - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

निर्वाचन आयोगले भन्यो- ‘लौरो’ चुनाव चिन्ह स्वतन्त्रको होइन, भ्रममा नपर्नु



काठमाडौँ- निर्वाचन आयोगले चुनाव चिह्नबारे भ्रम सिर्जना गरेकोप्रति ध्यानकर्षण भएको जनाएको छ ।

आयोगमा दर्ता रहेको हाम्रो नेपाली पार्टी नामक राजनीतिक दललाई प्रदान गरेको चुनाव चिह्न स्वतन्त्रहरूको साझा तथा वैकल्पिक चिह्न भनेर जनमानसमा भ्रम सिर्जना गर्ने कार्य भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले तीन दिने स्पष्टीकरण पनि माग गरेकाे छ ।

दललाई प्रदान गरिएको निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेदवारहरूलाई प्रदान गर्न नसकिने आयोगले जनाएको छ।

आयोगले दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचारप्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्तविपरीत देखिएको र यसले आम जनमानसमा भ्रम तथा अन्यौलता सिर्जना भएको जनाएको छ ।

आयोगले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ, ‘त्यस्ता भ्रामक कुराहरू प्रचारप्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्री तुरुन्त हटाउनका लागि तीन दिनभित्र आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलाई आदेश दिएको छ ।’