दुर्घटना अगाडी रविन्द्र अधिकारीले गरेको त्यो अन्तिम भाषण... - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

दुर्घटना अगाडी रविन्द्र अधिकारीले गरेको त्यो अन्तिम भाषण…



काठमाडौं : फोटोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा उनीसहित ७ जनाले ज्यान गुमाएका छन् ।

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे।

करिब १० बजेतिर कार्यक्रम स्थलमा पुगेका उनले १२/१४ मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे। खाना त्यहीँ खाए र पाथिभरा मन्दिर दर्शनका लागि उडे।

मन्दिर दर्शनबाट फर्किने क्रममा उनी चढको हेलिकप्टर दुर्घटनामा पर्‍यो। जबकी उनले थुम्की डाँडामा बन्न लागेको विमानस्थलबारे बोलेका खबर सम्वाददाता भर्खर लेख्दै थिए वा लेख्ने तयारीमा थिए। तर त्यो खबर समाचार कक्षमा आइनपुग्दै अर्को ठूलो समाचारले चैनहराम गर्‍यो- पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटना।

राष्ट्रिय राजनीतिबारे कम बोलेका उनले विमानस्थलको निर्माण र सञ्चालनमा आफू सम्वेदनशील रहेको बताएको कार्यक्रममै रहेका आठराइ चुहानडाँडा गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए।

‘देशैभर बन्द रहेका एअरपोर्ट सञ्चालन भइरहेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाउँदै छौँ’, उनले भने, ‘यहाँ पनि एअरपोर्ट बनाउने हो, म त्यसैका लागि यहाँ आएको छु।’

राष्ट्रिय राजनीतिबारे उनले खासै बोलेनन्। सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप सही नभएको उनले बताएका थिए।

उनले वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण र टेन्डर गरी विमानस्थल बनाउन ३ वर्षको समय लाग्ने अधिकारीले कार्यक्रममा बताएका थिए।

कार्यक्रम सकेर खाना खाइसकेपछि उनी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि उडेका थिए।