विद्यालयमा ल्यापटप तथा कम्प्युटर वितरण - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

विद्यालयमा ल्यापटप तथा कम्प्युटर वितरण



विशाल पाण्डेय/कैलाली,
कैलालीको घोडाघोडी नगरपालिका -८ जरहीमा ल्यापटप तथा कम्प्युटर वितरण गरिएको छ । एस ओ एस बालग्राम धनगढीले बालज्योती आधारभूत विद्यालयलाई आज एक कार्यक्रमका विच ल्यापटप , कम्प्युटर ,प्रोजेक्टर लगायतका विद्युतिय सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख अथिती रहेका थिए । प्रमुख अथितीको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले विद्यालयले पाएका स्रोत र साधनहरुको उचित सदुपयोग गर्नुपर्ने बताए । चौधरीले घोडाघोडी नगरपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरिरहेको बताए । घोडाघोडी नगरपालिकाले गुणस्तरीय शिक्षाको लागि ठूलो लगानी लगाएको बताउदै नगर प्रमुख चौधरीले कतिपय बिद्यालयमा स्रोत साधन कम भएर व्यवस्थापन गर्न कठिनाइ रहेको समेत बताए । नगर प्रमुख चौधरीले घोडाघोडी नगरपालिका -१ सुखडमा सुदुर पश्चिम् प्रदेश मै पहिलोपटक अपांगहरुको लागि आवाशिय विद्यालय स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिदै सहयोगका लागि एस ओ एस बालग्रामलाई धन्यवाद समेत दिए ।

घोडाघोडी नगरपालिकाका विद्यालय निरीक्षक उमेशराज रेग्मीले ईन्टरनेटको माध्यमबाट विद्यार्थीहरुको सिकाइलाई अगाडि बढाउनु पर्ने बताए । अहिले डिजिटल माध्यमबाट पढाइ हुने हुँदा पहिला शिक्षकहरुले आफ्नो क्षमता विकास गराउनु पर्ने बताए । रेग्मीले घोडाघोडी नगरपालिकाले पनि विभिन्न बिद्यालयहरुमा डिजिटल प्रविधिबाट अध्यापन गराउन प्रोजेक्टर लगाएतका अन्य सामग्रीहरु उपलब्ध गराएपनी त्यसलाई दराजमा थन्क्याएर राखिएको बताए ।

इन्टरनेट भविस्य बनाउने ठूलो माध्यम रहेकोले विद्यालयमा सहयोग गरेको एस ओ एस बालग्राम नेपालका योजना निर्देशक सिताराम सुवेदीले बताए । परिवार सबलिकरण कार्यक्रम अन्तरगत विद्यालयमा उक्त सामाग्री वितरण गरिएको बताउदै सुवेदीले कम्प्युटर ,ल्यापटप लगायतका उपकरणको राम्रोसँग सदुपयोग गरि प्रयोग गर्न आग्रह गरे ।

त्यस्तै विद्यालयका प्रअ भुपेन्द्र कुवरले एस ओ एस बालग्रामलाई धन्यवाद दिए । प्रअ कुवरले विद्यालयमा भवन अभावका कारण पठनपाठनमा समस्या रहेको गुनासो गरे । उनले हाल ७ सय १८ जना विद्यार्थीहरु अध्ययन गरिरहेको बताए । उनले भने, ‘ विद्यार्थीको संख्या धेरै छ , सेक्सन छुट्याउन अलग भवन छैन , अटाइ नआटाइ भएपनी विद्यार्थीहरुलाई यस्तो गर्मीमा राख्नु परेको छ ।’
कुवरले विद्यालयमा खानेपानी ,पंखा लगायतको समस्या रहेको समेत गुनासो गरेका छन् ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मोति सिंह बोहराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा
एस ओ एस बालग्राम धनगढीले डेल कम्पनीको कम्प्युटर ५ थान , ल्यापटप २ थान , प्रोजेक्टर १ थान , ब्याट्री ५ थान , कुर्सी १० थान लगाएतको सामग्रीहरु वितरण गरेको थियो ।

एस ओ एस बालग्राम धनगढी शाखाका योजना निर्देशक पदम बहादुर हमालको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन कार्यक्रमका कोर्डिनेटर विपिन कुमार मिश्रले गरेका थिए ।