लालबाबुले भने: अल्छी कर्मचारी कार्यालय नआए हुन्छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लालबाबुले भने: अल्छी कर्मचारी कार्यालय नआए हुन्छ



स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अघिल्लो कार्यकालमा डीभी र पीआरवाला कर्मचारीलाई कारबाही गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग चर्काचर्की परेको बताएका छन् ।

आइतबार बिहान क्वार्टरमा कलाकारहरुसँग कुरा गर्दै पण्डितले भने, ‘भट्टराईजीले मेरो मान्छेको पर्दा रोक्ने भन्नुभयो । मैले नीतिअनुसार कसैलाई छोड्दिन भनेँ । देश लुट्न कसैलाई दिन्नँ भनेँ ।’

एकै समयमा दुई वा दुई भन्दा बढी देशको नागरिक हुने कुरा मान्य नहुने उनले बताए । मुलुक संघीय संरचनामा गएपछि खटाइएका प्रदेशमा जान नमान्ने कर्मचारीलाई कारबाही थाल्ने उनले बताए ।

‘काठमाण्डु बसेर काम ठग्नेलाई चाँडै ठेगान लगाउँछु’, उनले भने, प्रधानमन्त्रीज्यूले के गर्नुपर्छ, गर्नुस् भन्नुभएको छ ।’ काम गर्न अल्छी गर्ने वा नसक्नेलाई अब ‘बाइबाइ’ गर्ने योजना रहेको पण्डितले सुनाए ।

पहिलोपटक मन्त्री हुँदा युवालाई स्वदेश फर्काउँछु भनेको स्मरण गर्दै उनले अझै पनि त्यो सोच परिवर्तन नभएको बताए । ‘विदेश जाने सोचमा रहेकाहरू देशमै केही गर्नुस् न ’, उनले भने, ‘वातावरण बनाउने काम म गर्छु ।’ विदेशमा रहेका युवालाई बिस्तारै फर्काउने वातावरण बनाउने उनले बताए ।

आफूले मुलुकलाई फोर्न नभई जोड्न पहल गरिरहेको बताए । ‘म मधेशमा जन्मिएको हुँ तर पहिले नेपाली हुँ त्यसपछि अरु’, पण्डितले भने ।

मन्त्रालय फरक भए पनि कलाकारको हितका लागि आवाज उठाउने उनको भनाइ छ । नेपाली कलाक्षेत्रमा पनि सुधार हुँदै गएकोमा उनले खुशी व्यक्त गरे । ‘२०४८ पछि हलमा पुगेर सिनेमा हेरेको छैन । कहिलेकाहीँ ‘प्रिमियर सो’मा जान्छु । फुर्सद भएको बेला युट्युब र सीडीमा हेर्छु, तर’, उनले भने, ‘नेपाली कलाकार र सङ्गीतकर्मीलाई माया गर्छु ।’ ‘सुन साइँली‍…भन्ने गीतले साह्रै मन छुने पण्डितले बताए । ‘रमाउने समय त ४० भित्रै हो । त्यही बेलामा रमाउन नपाए खै कहिले रमाउने ?’ मन्त्री पण्डितले प्रश्न गरे ।