लैङ्गिक हिंसा विरुद्ध आयो २४ घण्टे हेल्पलाइन ‘खबर गरौं ११४५’ मा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

लैङ्गिक हिंसा विरुद्ध आयो २४ घण्टे हेल्पलाइन ‘खबर गरौं ११४५’ मा



काठमाडौं : राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सञ्चालनमा ल्याएको छ।

लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन मंसिर २४ गते एक समारोहबीच यो सेवाको शुभारम्भ गरिएको हो।

‘खबर गरौं ११४५’ मा महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित भएका वा महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा संस्थाले महिला अधिकारको प्रयोग गर्नबाट बञ्चित गरेको विषयमा पीडित व्यक्ति वा निजको तर्फबाट जो सुकैले खबर गर्न सकिनेछ।

हेल्पलाइनमा आएका उजुरीहरु सुरुमा मुद्धा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम-सिआइएस) मा दर्ता हुनेछ।

त्यसपछि प्रारम्भिक छानविनबाट हिंसा भएको वा अधिकारबाट वञ्चित भएको देखिए मुद्दाको प्रकृति अनुसारका आवश्यक सेवाहरू जस्तै सुरक्षित बास, स्वास्थ्य उपचार सेवा, मनोसामाजिक परामर्श, बालबालिकाका लागि विशेष सहयोग वा कानुनी सेवाका लागि सम्बन्धित सेवा प्रदायक संस्थामा पठाइन्छ।

महिला आयोगले जिबीभी डेटा समेत सार्वजनिक गरेको छ। विश्व स्वास्थ्य संगठन, २००५ का अनुसार संसारभर कम्तीमा ३ मध्ये १ महिलाले आफ्नो जीवनभर भौतिक हिंसा व्यहोरेका हुन्छन्। यस्तै विश्व स्वास्थ्य संगठन, २०१३ अनुसार संसारभर ३५ प्रतिशत महिलाले आफ्नो जीवनमा कुनै समयमा भौतिक वा यौनिक हिंसा आफ्नो जीवनसाथी वा अरू कसैबाट व्यहोरेका हुन्छन्।