एसओएस बालग्राममा चार छात्रामाथि पाँच वर्ष लगातार यौन दुर्व्यवहार - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

एसओएस बालग्राममा चार छात्रामाथि पाँच वर्ष लगातार यौन दुर्व्यवहार



काठमाडौं । ‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो । कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस टिचर हामीसँगै पौडिन आउनुहुन्थ्यो र हाम्रा संबेदनशील अंगसँग खेल्नुहुन्थ्यो’ घटनाको १४ वर्षपछि पीडित किशोरीले बताएकी छन् ।

एसओएस बालग्रामका छात्राहरुमाथि भएको सन् २००५ को एउटा प्रतिनिधि घटना हो यो । चारमध्ये दुई छात्रा त्यहींको एसओएस बालग्राम सुर्खेतमा बस्थे भने दुई छात्रा बाहिरबाट पढ्नका लागि मात्र बालग्रामद्वारा सञ्चालित विद्यालयमा आउँथे, उनीहरु बाहिर आफ्नै घरमा खाने–बस्नेगर्थे ।

यो र यस्तै प्रकारका यौन दुव्र्यबहार लगातार पाँच वर्षसम्म बालग्राममा बसेर र बाहिर निस्किसकेपछि पनि सहेको दुई छात्राको भनाइ छ । अहिले २५ वर्षभन्दा माथि उमेरका उनीहरु बालग्रामबाहिर स्वतन्त्र समाजमा आम नागरिक सदस्यका रुपमा छन् । दुवै विहेबारी गरेर घर बसाउने तयारीमा छन् ।

उजुरी गर्दा आफ्नै परिचय बाहिर आउला, सामाजिक बहिष्करणमा परिएला भनेर उनीहरुले आँशु पिएर दशक बिताए, तर पछिल्लो समय उनीहरुजस्तै छात्रावासमा बसेर पढ्ने टुहुरा छोरीहरुलाई हुर्काउने एक आमाले एसओएसभित्रका केही ‘व्याँसाहरु’का विरुद्ध आवाज उठाएपछि आफूहरुले पनि हिम्मत गरेको उनीहरु बताउँछन् ।

‘गोपनीयताकै प्रश्न हो सर, एसओएस बालग्रामजस्तो पवित्र मन्दिरमा छिरेका केही राक्षसहरुको संख्या धेरै त नहोला, तर उनीहरुविरुद्ध बाहिर आएर बोल्ने कसले रु’ यतिबेला पनि उनीहरु कुनै कारणले आफ्नो गोपनीयता सार्वजनिक होला कि भनेर डराइरहेका छन् । उजुरीकर्तामध्ये एक किशोरीले भनिन्, ‘हामी चारै जनालाई यौन दुव्र्यवहार गर्ने त्यही टिचरले पो हाम्रो नाम बाहिर ल्याइदिने हो कि १’

करिब तीन महिनाअघि सुर्खेतकै १० नम्बर छात्रावासमा आमाको पदमा कार्यरत यसोदा महतलाई विवाह गरेको निराधार आरोप लगाउँदै कन्ट्री डाइरेक्टर ईश्वरी शर्मा र सुर्खेतकै डाइरेक्टर मुकुन्द गिरीले रातको समयमा आफ्नो कार्यकक्षमा बोलाएर तथानाम गालीगलौज गर्दै जागिर छोड्न धम्की दिएको भन्दै नेपाल समाचारपत्रलाई भिडियो अन्तर्वार्ता दिएर शोषणको पर्दाफास गरेकी थिइन् । ‘महत आन्टीको हिम्मत देखेर हामीलाई पनि आफूमाथि भएको शोषणका विरुद्ध उजुरी गर्ने हिम्मत भएको हो’ उजुरीकर्ता दुवैले भने ।

एसओएस बालग्रामसँग अहिले सात हजार विद्यार्थीको भविष्य जोडिएको छ । अभिभावकविहीन बालबालिका बालग्रामका १० केन्द्रमा गरी २ हजार ५ सयको हाराहारीमा छन् जो त्यहीं बालग्राममा बस्छन् भने बाँकी बाहिरबाट पढ्न मात्र आउँछन् । विश्वका विभिन्न मुलुकमा रहेका दाताहरुको सहयोगले चलेको यस बालग्रामको बद्नाम नहोस् भन्ने चोखो भावनाले पनि धेरै पीडित आँसु पिएर चुपचाप बस्नेगर्छन् । अनुशासित र इमान्दार शिक्षक तथा कर्मचारी पनि विकृतिका विषयमा बोल्दा आफ्नो छवि पनि धमिलिन्छ भनेर डराउँछन् ।

आमा महतको अन्तर्वार्ता छापिएपछि अन्तर्राष्ट्रिय केन्द्रीय कार्यालयको निर्देशनमा नेपालमा स्वतन्त्र र बाल अधिकारको क्षेत्रमा उच्च प्रतिष्ठा कायम गरेका व्यक्ति अधिवक्ता चन्द्रिका खतिवडासमेत संलग्न रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको बुझिएको छ ।

यौन दुव्र्यहारसम्बन्धमा अहिले परेको उजुरीको छानबिन समितिमा समेत अधिवक्ता खतिवडा संलग्न छन् । यस समितिले छानबिन गर्दा अभियोगको दायरामा परेका व्यक्तिलाई निलम्बनमा राखेर अनुसन्धान अघिबढाइरहेको छ । सुर्खेतस्थित एसओएस बालग्रामका निर्देशक मुकुन्द गिरीलाई निलम्वन गरिदिन छानबिन समितिले सिफारिस गरेअनुसार शनिबार उनलाई अर्को पत्र प्राप्त नहुँदासम्मका लागि निलम्बन गरिएको छ ।

निलम्बित बालग्राम निर्देशक गिरी सुर्खेत बालग्राम निर्देशक हुनुअघि एसओएस बालग्राम सुर्खेतको अर्को परियोजना एसओएस हर्मन माइनर विद्यालयमा कार्यरत थिए । बालग्राम निर्देशक गिरी एसओएस बालग्राम नेपालका कन्ट्रि डाइरेक्टर ईश्वरीप्रसाद शर्माका विश्वास पात्र मानिन्छन् । तत्कालीन अवस्थामा शर्मा एसओएस बालग्राम नेपालको शिक्षा विभाग प्रमुख हुँदा गिरीलाई विद्यालयको प्राचार्य नियुक्त गरेका थिए भने शर्मा २०१७ मा कन्ट्री डाइरेक्टर भएसँगै उनले गिरीलाई सुर्खेत बालग्रामको प्रमुखमा बढुवा गरेका थिए ।

तीन सदस्यीय एसओएस बालग्राम नेपालको छानबिन टोली धनगढीमा आफ्नो छानबिन सकेर सुर्खेतको एक होटलमा मुकाम बनाई सम्बन्धित सरोकारवालाहरुसँग सोधपुछ गरिरहेको छ । बालग्रामको संरचनाको आधारमा बालग्राममै रहेको अवस्थामा आफूमाथि अन्याय परे पनि हतपत बालबालिका तथा तल्लो तहमा कार्यरत कर्मचारीहरु सहजै आफ्नो कुरा राख्न डराउने गर्दछन् ।

सन् २०१२ मा विभिन्न मुलुकमा गरिएको अध्ययनलाई हेरेर एसओएस अन्तराष्ट्रियले बालबालिकाको अधिकारको सुरक्षार्थ ‘बाल संरक्षण नीति’ लागु गरेअनुसार यो छानबिन चलिरहेको हो । एसओएस बालग्रामको बाल सुरक्षण नीतिअनुसार विगतमा भएका यस्ता बाल अधिकार हनन तथा यौन हिंसासम्बन्धी घटनाहरुलाई बालग्रामको बाल सुरक्षण नीतिले ‘ऐतिहासिक लान्छना’को रुपमा परिभाषित गरेको छ ।

पछिल्ला दिनहरुमा एसओएस बालग्राम अन्तर्राष्ट्रियले संसार भरिका आफ्ना मातहतका बालग्राममा बालबालिकामाथि भएका यौनजन्य घटनाहरुलाई गम्भीरतापूर्वक लिनेगरेको बालग्रामभित्रका असल कर्मचारीहरु बताउँछन् । एसओएसकी प्रवक्ता दीपा ओली भन्छिन्, ‘एसओएस बालग्राम अन्तर्राष्ट्रिय यस्ता घटनाहरुमा संलग्न जो–कोही शिक्षक–कर्मचारीप्रति शून्य सहनशीलताको नीति लिने र निर्मम हुनेगर्दछ ।’

करिब १५ वर्षअघि एसओएस बालग्राम नेपालमा कार्यरत एसओएस बालग्राम नेपालका तत्कालीन राष्ट्रिय निर्देशक बालग्राममा हुर्किएर अष्ट्रेलियामा अध्ययन गरिरहेकी एक छोरीमाथि अष्ट्रेलियामै यौनजन्य हिंसात्मक क्रियाकलापमा निर्लिप्त भएको भिडियो सार्वजनिक भएपछि कारबाहीमा परे, उनले जागिरबाटै बर्खास्त हुनुप(यो ।

छानबिन समितिले चार छात्रामाथि निरन्तर पाँच वर्ष यौन दुव्र्यहार गर्ने शिक्षक कार्यरत रहँदा सुर्खेतका प्राचार्य रहेका पदम हमाललाई पनि छानबिनको दायरामा ल्याएको छ भने आमा महतको जागिर खाइदिने धम्की दिनुका साथै ‘तँ’ भनेर दुर्वचन बोल्ने र यौन शोषण गर्ने अभियोग लागेका शिक्षकलाई निरन्तर पदोन्नति गर्ने कन्ट्री डाइरेक्टर शर्मामाथि पनि प्रश्न गर्ने तयारी गरेको बुझिएको छ । हमाल हाल एसओएस बालग्राम धनगढीका योजना निर्देशक छन् भने कन्ट्री डाइरेक्टर शर्मामाथि पछिल्लो समय आर्थिक अनियमितताको पनि आरोप छ ।, यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।