गृहमन्त्री बादलले ढाँटेको प्रमाणित: कुमार पौडेलको हत्या गरिएको थियो - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

गृहमन्त्री बादलले ढाँटेको प्रमाणित: कुमार पौडेलको हत्या गरिएको थियो



बीबीसी- राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लवको दल नेकपाका नेता कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको पुष्टि नभएको ठहर गरेको छ।

आयोगका प्रवक्ता एवम् सचिव वेद भट्टराईका अनुसार आयोगको अनुसन्धानबाट पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको पुष्टि हुन नसकेको हो।

आयोगको सोमवार बसेको बैठक त्यस्तो ठम्याइमा पुगेको हो।

त्यसैले आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका एक सदस्यले बीबीसीलाई बताए।

असार पहिलो साता विप्लवको दलका सर्लाही जिल्लाका नेता पौडेल लालबन्दी नगरपालिकास्थित जंगलमा भएको भनिएको भिडन्तमा मारिएको प्रहरीले बताएको थियो।

तर प्रहरीले नियन्त्रणमा लिएर उनको हत्या गरेको भनि संसद्‍मा समेत कुरा उठेको थियो।

उक्त घटनाबारे मानव अधिकार आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा आयोगले त्यस्तो निर्णय गरेको हो।

अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाए पछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुवै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

गृह मन्त्रालयले दिएको प्रतिवेदनले पनि भिडन्तमै मारिएको देखाएको अधिकारीहरूले बताएका थिए।

तर आयोगको ठहर सरकारको भनाइभन्दा विपरीत आएको छ।

विप्लवको दलले पनि आफ्नो नेताको मृत्यु दोहोरो भिडन्तमा नभइ नियन्त्रणमा लिएर उनको हत्या गरिएको बताएको थियो।

पौडेलका परिवारका सदस्यहरूले पनि त्यस्तै दाबी गरेका थिए।