उपत्यका ठप्प नपार्ने हो भने सबै सोत्तर हुनेभयो: प्रजिअ - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

उपत्यका ठप्प नपार्ने हो भने सबै सोत्तर हुनेभयो: प्रजिअ



काठमाडौं- काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा अवधिभर कुनैपनि खालको सवारी पास वितरण नगरिने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजे सम्मका लागि काठमाडौं उपत्यकाभर अत्यावश्यक बाहेकका सबै सेवासहित मानिसको आवागमन समेत बन्द गर्नेगरी निषेधाज्ञा जारी भएकाे उनले बताए।

पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउने र सबै सोत्तर हुने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको दाहालले बताए।

अत्यावश्यक परेका व्यक्तिलाई सवारीसाधनको आवतजावतका लागि भन्दै जिल्ला प्रशासनले कुनै पासको व्यवस्था नगर्ने तर आफ्नो परिचय पत्र र कामको महत्वका आधारमा आवतजावत गर्न सक्ने उनले बताएका छन् ।

निषेधाज्ञाको अवस्थामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन। उनका अनुसार अत्याावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइने छैन।

अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न नदिने र जिल्ला भित्र पनि सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नपाउने गरी आदेश जारी गरिएको उनले बताए।

त्यस्तै कोभिड १९ को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयमा आउन र जानका लागि विहान ९ बजे देखि साढे १० बजे सम्म र बेलुकी ३ बजेदेखि साढे ५ बजेसम्म आवागमन गर्न दिने भएको छ।

अत्यावश्यक वस्तु तथा सेवा अन्तर्गत औषधि, खाद्यवस्तुु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन अस्पताल जाने आउने बिरामी र मृत्यु संस्कारका लागि प्रयोग गर्ने सवारी साधनका लागि पूर्व अनुमति आवश्यक नपर्ने प्रमुख दाहालले बताए।